काठमाडौं – सरकारले रेडअलर्ट जारी भएका ३४ जिल्लामा भोलि बुधबारसम्म रात्रिकालीन बस चलाउन रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।
मनसुनी प्रणाली सोमबार रातिबाट सक्रिय बनेपछि जल तथा मौसम विज्ञान विभागले मधेश र कर्णालीबाहेक पाँच प्रदेशका ३४ जिल्लामा रेडअलर्ट जारी गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमलाई रेडअलर्टमा राखेको छ । त्यस्तै, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखामा रेडअलर्ट जारी भएको छ ।
गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा पनि उच्च जोखिममा छन् । महाशाखाका अनुसार लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँचीमा धेरै पानी पर्ने देखिन्छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रेडअलर्ट जारी भएको छ ।