धादिङ- पाँच वर्ष पहिलेको तुलनामा धादिङमा सवारी दूर्घटनाको संख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरुमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहेपनि दूर्घटनाको संख्यामा भने कमी आएको हो ।
आर्थिक वर्ष २०७६/०७७ अर्थात पाँच वर्ष पहिले एक वर्षमा चार सय ५८ वटा दूर्घटना भएकोमा गत आर्थिक वर्षमा एक सय ९८ वटा मात्रै दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकमा देखिएको छ ।
तथ्यांक अनुसार पाँच वर्ष पहिलेको दूर्घटना संख्याको तुलनामा गत वर्ष २०८०/०८१ मा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
आ.व.२०७६/०७७ मा २७ वटा दूर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ वटा दूर्घटना मिलापत्रबाट टुंग्याइएको तथ्यांकले देखापनि मृतक र घाइतेको संख्या प्रहरीसँग छैन । आ.व.२०७७/०७८ मा भन्दा आ.व.२०८०/०८१ मा मृत्यु हुनेको संख्या पनि २५ प्रतिशतले कमी आएको देखिएको छ । पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको संख्या उस्तै छ । आ.व. २०७७/७८ मा ५९ जना, २०७८/७९ मा ७९ जना, २०७९/८० मा ४३ जना र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकमा उल्लेख छ ।
दूर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको संख्यामा पनि कमी आएको छ । तर, दूर्घटनामा संलग्न हुने साना सवारीको संख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन । आ.व.२०७६/०७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ वटा मझौला सवारी र दुई सय २८ वटा साना सवारी दूर्घटनामा संलग्न भएकोमा गत आ.व.२०८०/०८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी दूर्घटनामा संलग्न भएको छ । ठूला सवारीको दाजोमा साना सवारी तीव्र गतिमा हुइकिने र बढी दूर्घटनामा पर्ने गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा दूर्घटनामा परेर धादिङमा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ । दूर्घटनामा परी चार सय ३६ जना घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने दुबैमा पुरुषको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।
आ.व. २०७७/०७८देखि चार वर्षमा भएको चौध सय एक दूर्घटनाबाट मृत्यु हुनेको संख्या दुई सय २५ जना पुगेको छ । ती दूर्घटनाबाट २५ सय सात जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहेपनि सडक सुरक्षामा प्रहरीको सकृयता बढेकै कारण दुर्घटनाको संख्यामा उल्लेख्य रुपले कमी आएको हो ।
‘पछिल्लो वर्षहरुमा सवारीसाधनको चाप अध्याधिक बढको छ तर दूर्घटना संख्या घटेको छ । यसलाई हामीले उपलब्धीको रुपमा लिएका छौं’, प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्–‘सवारीको चाप बढेसँगै बढ्न सक्ने संभावित दूर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धी हो ।’
धादिङमा गत फागुन २३ गते गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको यात्रुबस दूर्घटनामा १२ जना र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दूर्घटनामा ९ जना गरी दुई वटा दूर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो । यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दूर्घटना हुन् ।