Mon. Nov 25th, 2024

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं – अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३४.२१रुपैयाँ पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि साउन ४ गते १३४।१७ रुपैयाँ पुगेको थियो । यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३३.२१ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्वव्यापी रूपमा डलरको माग बढेसँगै लगातार यसको मूल्य आकाशिएको हो । डलर विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने मुद्रा हो । त्यसैले एकाध बाहेक अधिकांश देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् । साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको छ ।

डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ ।डलरमा गरिएको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिने चलन रहेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल आएका थिए भने सन् २०२४ मा पनि औसतमा मासिक झन्डै १ लाख हाराहारी पर्यटक आइरहेका छन् । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

About The Author

अन्य समाचारहरु: