शंकर श्रेष्ठ
धादिङ -धादिङको गंगाजमुना गाउँपालिका–३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । पछिल्लो समय गुरुङगाउँ होमस्टेको नामले परिचित अम्बोटेगाउँ ठूलो वर्षातका कारण पहिरोको चपेटामा परेको हो ।
आइतबार रातीदेखि परेको मुसल्धारे पानीले भिरालो ठाउँमा रहेको बस्तीमा पहिरो सुरु भएको स्थानीय रुपा गुरुङले जानकारी दिईन्। ‘आइतबार रातीदेखि मुसल्धारे पानी प¥यो । सडकबाट बगेको भलपानी पनि बस्तीमै पस्यो’, गुरुङले भनिन्–‘अब एक पटक यस्तै ठूलो पानी प¥यो भने बस्ती भन्दा माथी र तलको दुई वटा पहिरोले गाउँ पुरै बगाउने खतरा बढको छ ।’
गाउँ माथीबाट पसेको भलपानीले ठाउँ–ठाउँमा क्षति पुगेको छ । बस्तीको सिरानबाट डरलाग्दो पहिरो खसेको छ । तल्लो भागबाट पनि निकै लामो पहिरो खसेको छ । पहिरो झर्ला भन्ने सोच्दै नसोचेको स्थानहरुमा पहिरो चल्न थालेपछि गाउँलेहरु त्रसित बनेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकको निकै चहलपहल हुने यो वस्तीमा १६ घर गुरुङ समुदायको बसोबास छ । पहिरोले छ घर उच्च जोखिममा छ । नमूना होमस्टेको रुपमा परिचित घरहरु आवतजावत गर्न गाउँलेहरुले चिटिक्कसँग सिंगारेर राखेको एकमात्रै गोरेटो बाटो पनि पहिरोले थुनिएको छ ।
माथिल्लो बस्ती नजिकको पहिरोले करिब छ घर र तल्लो वस्तीसँग जोडिएको पहिरोले करिब सात घर उच्च जोखिममा परेको छ । ठूलो वर्षातका कारण बगेको भलपानीले सडक र गौडाहरु तहसनहस पारेको छ । सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटोहरुमा पनि क्षति पु¥याएको स्थानीय लोक बहादुर गुरुङले जानकारी दिए ।
तत्काल रोकथामको उपाय अपनाउन नसकिए आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको नमूना गाउँनै विस्थापित हुने अवस्था सिर्जना भएको गुरुङले जानकारी दिए ।