
धादिङ-साउनको दोश्रो साता सुरु हुँदासम्म धादिङका एक तिहाइ खेतमा रोपाई हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो ।
पछिल्लो तथ्यांक अनुसार धादिङमा ६८ प्रतिशत धान रोपाई सकिएको छ भने ३२ प्रतिशत खेतमा रोपाईहुन बाँकी छ । यो वर्ष बर्षे धान खेती हुने अनुमान गरिएको ११ हजार तीन सय १२ हेक्टर मध्ये सात हजार सात सय १५ हेक्टरमा रोपाइ सकिएको कृषि विकास कार्यालय धादिङका प्रमुख निर्मला गुरुङले जानकारी दिईन् ।
‘रोपाइमा ढिला भएपनि आकाशेपानीको भरमा रोप्नुपर्ने खेतहरुमा रोपाई चलिरहेको छ’, गुरुङले भनिन्-‘चैते धान ढिला पाकेको र लगाइएको मकै नपाकेका कारण ढिला रोपाई भएको हो । ’साउनको तेश्रो सातासम्म रोपाइँ चलिरहने उनको भनाई छ ।
जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान उत्पादन हुँदै आएको छ ।नीलकण्ठ नगरपालिका, गंगाजमुना, त्रिपुरासुन्दरी र बेनिघाट गाउँपालिकालाई बर्षे धान खेतीको पकेट क्षेत्र मानिन्छ ।
पछिल्लो समय धादिङका किसानहरु स्थानीय जातको धान रोप्न छाडेर अधिकांश किसानले हाइब्रिड धानप्रति आकर्षित हुने गरेका छन् । यो वर्ष कम उचाई भएका ठाउँहरुमा युएस ३१२, धानिया, राजा लगाएका छन् भने अलि बढी उचाई भएका ठाउँहरुमा सावित्री, मनसुली, मकवानपुरे लगायत जातका धान लगाउने गरेका छन् । रैथाने जातका धान लगाउने किसानको निकै कम रहेको बाली संरक्षण अधिकृत जयराम अधिकारीले जानकारी दिए ।
कृषि विकास कार्यालयको तथ्यांकमा ६८ प्रतिशत खेतमा रोपाई भएको भनेपनि स्थानीय पालिकाहरुले भने यकिन तथ्यांक नै दिन सकेको छैन । खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् । स्थानीय तहका प्राविधिकहरुले मोटामोटी अनुमानको भरमा रिपोटिङ गर्ने गरेका छन् ।
कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक गाउँपालिकाहरुमा भेटिदैन । आँखाले हेरेर अनुमान लगाएकै आधारमा प्रतिशत निकाल्ने गरिएको छ ।
नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा घट्दै गइरहेको बेला धादिङमा पनि त्यसको असर देखिएको छ । तथ्यांकअनुसार केही वर्ष अघिसम्म १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने धादिङ जिल्लामा अहिले घटेर ११ हजार हेक्टरमा मात्रै धान रोपाइ हुने गरेको छ ।
बर्सेनी उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेको विज्ञहरु बताउँछन् ।