विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९.८० मा नेपालले रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र रु एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार रु १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । भारतबाट रु नौ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा रु एक खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा रु आठ खर्ब ९३ अर्ब ५० करोड बराबर छ ।
नेपालको अर्को छिमेकीमुलुक चीनसँग रु दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट रु दुई खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा रु २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट रु ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा रु ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ । जसबाट रु ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो ।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा रु ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग रु ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ ।
गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा रु एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, रु ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र रु ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । रु ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र रु २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।