काठमाडौं – साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९।६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ ।
यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यसपछि केही मत्थर हुँदै कारोबारको अन्त्यमा ५९ अंकले बढ्यो । अघिल्लो कारोबारको दिन (बुधबार)मा बजार ५४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजारसँगै कारोबार समेत उच्च भएको छ । १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँबराबरका तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर एक लाख ८४ हजार ७१२ पटकमा खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।