काठमाडौं– वाणिज्य बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि साउनमा पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका छन् ।
साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०।१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६।६७ प्रतिशत र संस्थागततर्फ ०।१८८ प्रतिशत घटेर ५।४३ प्रतिशत कायम भएको छ । तर, सञ्चालनमा रहेका दुई बैंक कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् ।
कृषि विकासले ०।६३२४ प्रतिशत र एभरेष्टले ०।५५ प्रतिशत ब्याजदर बढाएका हुन् । १३ बैंकले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् ।