धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर १ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गयराती वर्षातसँगै गाउँमुनीबाट झर्न सुरु भएको पहिरोले पुरै गाउँ तानिने खतरा बढेको हो ।
‘चारैतिरबाट पहिरोले घेरेको छ । गाउँ भन्दा मुनीबाट जताततै छियाछिया बनेको छ । एउटा घरको ट्वाइलेट बगिसक्यो’, स्थानीय पूर्ण तामाङले भने–‘राती १२ बजेतिर ठूलो पानी पर्यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौं ।’ गाउँमुनीबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको तामाङले जानकारी दिए ।
मकैबारीको भित्रभित्रै चिरा परेको छ । बजारको जस्तै सबै जोडिएको झुरुप्प परेको घरहरु छ । एउटा भत्किने वित्तिकै सबै भत्किने खालको घरहरु छ ।
वस्ती भन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । स्थानीयहरुका अनुसार जमिन चिरा परेर बग्न थालेको छ । पहिरो बढ्ने शंकेत देखिएपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा विजुलीको खम्बाहरु समेत रहेकोले झन खतरा बढेको छ ।
किचेत गाउँमा विशेषगरी तामाङ समुदायको बसोबास छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५५ किलोमिटरको दुरीमा छ ।