Thu. Mar 13th, 2025

तान्त्रिक बाबालाई बालिका बेच्न खोज्ने समूहलाई क्षतिपूर्ति र जरीवानासहित जेल सजायँको फैसला

धादिङ– तान्त्रिक बाबालाई १६ वर्षीय बालिका बेच्न खोज्ने समूहलाई जेल सजायँ तोकिएको छ । धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको ईजलासले मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा उनीहरुलाई फैसला सुनाएको हो ।

दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाई दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरीवाना र पीडितलाई क्षतिपूर्ति दिनेगरी फैसला भएको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । फैसला अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौको कागेश्वरी मनहरा नगरपालिका–६ क ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौं महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिने उल्लेख छ ।

अदालतले त्रिपुरासुन्दरी गाउँपालिका–१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी गाउँपालिका –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५÷१५ वर्ष कैद र एक÷एक लाख जरिवाना गर्ने फैसला समेत गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको २०७९ पुस २० गते भारतको दिल्लीस्थित मंगलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्दार गरी एयर इण्डियाको जहाजद्वारा नेपाल ल्याइएको थियो । मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी २०७९ मंसिर १५ गतेदेखि घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिईएको थियो ।

बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पु¥याएको अनुसन्धानबाट खुलेको छ । मामाघरमा बस्दै आएकी बालिकालाई भारत पु¥याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरुले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको अनुसन्धानामा संलग्न प्रहरीको भनाइ छ ।

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भईरहेको अबस्थामा बालिकाको उद्धार गरी नेपाल ल्याईएको थियो । किशोरीलाई दिल्ली पु¥याएपछि घटनामा संलग्न पाँचजना एकमहिना अघि नै नेपाल फर्केका थिए भने एकजना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक–फरक तीनजना तान्त्रिक बाबासमक्ष भेटाउँदै आएकी थिइन् ।

About The Author

अन्य समाचारहरु: