
धादिङ – नौबिसे नागढुंगा सडक अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका-९ खात्रीपौवामा अवरुद्ध सडक दुईतर्फी खुलेको छ । सडक माथीबाट झरेको पहिरोले बिहानैदेखि अवरुद्ध सडक पहिरो पन्छाएर दुईतर्फी संचालनमा ल्याइएको हो ।
पृथ्वी राजमार्गको सिम्ले र झ्याप्लेखोला भन्ने ठाउँको पहिरो पनि पन्छाएर एकतर्फी संचालनमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
बेनिघाट रोराङ गाउँपालिका-१० पानीधारा र तिङग्राङखानी भन्ने ठाउँमा झरेको पहिरो पनि डोजरले पन्छाएर सडक संचालनमा ल्याइएको छ । बेनिघाट रोराङ-५ कृष्णभीर, बेनिघाट रोराङ-३ सलाङघाटमा पहिरो पन्छाए पनि जोखिम भने उस्तै छ ।
पहिरो नभएको स्थानमा पनि राजमार्ग विस्तारको क्रममा निस्किएको माटोले सडक हिलाम्मे छ । पहिरो र खोल्साहरुबाट झरेको लेदो माटोले पृथ्वीराजमार्ग सबैभन्दा धेरै अस्तव्यस्त बनेको छ । पृथ्वीराजमार्गमा दैनिक १३ हजार भन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्ड छ ।