
हेटौंडा – केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।
नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुवै काठमाडौंमा छन् । उनीहरु शुक्रबार हेटौंडा फर्किने तयारीमा छन् ।
बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।
प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो ।