Sat. Jul 6th, 2024

धादिङबेसीमा कारभित्र शंकास्पद वस्तु भेटिएपछि तनाव…

अज्ञात व्यक्तिले सुटकेश राखेको कार । दिउसो करिब २ः३० बजेको समयमा बा १६ च ९१७२ नम्बरको गाडीमा अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेपछि तनावको स्थिति सिर्जना भएको छ । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – धादिङ नीलकण्ठ नगरपालिका–३ बिचबजार चोक नजिकै सडक किनारमा पार्किङ गरी राखेको गाडीभित्रमा अज्ञात व्यक्तिले सुटकेश छाडेर हिँडेपछि बजारमा तनाव सिर्जना भएको छ ।

त्रिपुरा स्टेश्नरी पसलका सञ्चालक नारायणकुमार श्रेष्ठले घर अगाडि सडकमा पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक जना अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

छोटो कपाल, निलो रंगको स्पोर्ट गन्जी र खैरो पाइन्ट लगाएको अन्दाजी ३० वर्षका युवक गाडी नजिकै केहीबेर उभिरहेको र उनैले सुटकेश गाडीमा हालेर छोडेको प्रत्यक्षदर्शीको भनाई छ । ‘दिउसो करिब साढे दुई बजे ती व्यक्तिले सुटकेश राखेर हिँडेको हो । कार चालककै काम गर्ने कोही नयाँ मान्छे होला भनेर केही भनिएन’, एक प्रत्यक्षदर्शीले भने ।

अहिले शंकास्पद वस्तु राखिएको कार वरपर प्रहरीले सुरक्षा घेरा अपनाएको छ । शंका लागेपछि किन जोखिम लिनु भनेर कार वरिपरिको स्थानलाई सुरक्षित गरेर शंकास्पद वस्तुको पहिचानको लागि नेपाली सेनाको विज्ञ टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । ‘गाडीको लक खुल्ला रहेछ, शंकास्पद लागेपछि हामीलाई खबर आयो,’ केसीले भने–‘नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि बोलाएका छौं । केहीबेरमा पहिचान हुनेछ ।’

खैरो रंगको दुई स्टेप भएको घिसार्न मिल्ने सुटकेश गाडीको पछिल्लो सिटमा देखिन्छ । कार पार्किङ गरेको वरपर हिटडुल गर्न रोक लगाएको छ । दिनदाहाडै बम छोडेको हुनसक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् । कार धनी नारायण कुमार श्रेष्ठ पुस्तक व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: