Tue. Jul 2nd, 2024

रुविभ्याली गाउँपालिकाको नीति तथा कार्यक्रम र मेरो धारणा

रुविभ्याली गाउँपालिकाले प्रस्तुत गरेको आ.व.२०८१/०८२ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रम अध्ययन गर्दा विगतमा सञ्चालन गरेका कार्यक्रम भन्दा भिन्न र उत्साहपूर्ण भएको देखिदैनन् ।

. जडिबुडि तथा खनिज

नामै रुबी (Ruby) रहेको गाउँपालिकामा जडिबुडि तथा खनिज सम्बन्धी नीति तथा कार्यक्रममै नपर्नु वा समावेश नगर्नु आश्चर्य कुरा हो । आजको दिनमा हाम्रो गाउँपालिका धनि हो भने वा छ भने त्यो यहि जडिबुडि, खनिज र अन्य प्राकृतिक स्रोत साधन नै हो । तर यसलाई पालिकाको सम्पतिको रुपमा प्रयोगमा ल्याउन नसक्नु सिँगो पालिकाको दुर्भ्याग्या हो ।

यो वर्ष मात्र रुवि भ्यालि १ पाङसाङ वरिपरिबाट २ करोड भन्दा बढि यर्सागुम्पाको निर्यात भएको अनौपचारिक खबर छ तर पालिका सँग जडिबुडि तथा खनिजको छुट्टै स्पष्ट नीति वा ऐन नहुँदा स्थानिय सरकारले अधिकतम लाभ लिन सकिरहेको छैन,  जुन दु:खद हो ।

स्थानीय सरकारसँग स्पष्ट नीति वा ऐन नहुँदा विभिन्न रंगको पत्थर (Ruby)अवैध रुपमाचोरी निकासी भइरहेको घटना बेलाबखत नेपाल प्रहरीले चोरी निकासीकर्तालाई पक्राउ गरेपश्चात सञ्चारका माध्यम मार्फत प्रकाशन भइरहेको छ।

. शिक्षा

प्राविधिक शिक्षक बिना अधिकाश विद्यालयहरुमा विभिन्न संस्थाहरुले सहयोग स्वरुप दिएको प्राविधिक उपकरणहरु विद्यालयको कुनामा प्रयोग विहिन भएर थन्किरहेको परिपेक्षमा प्राथमिकताका साथ एक विद्यालय एक प्राविधिक शिक्षक कार्यक्रमलाई अगाडि सार्नु पर्नेमा स्थानीय सरकारले “एक विद्यालय एक ल्यापटपˮ कार्यक्रम प्रस्तुत गरेर जग हसाउने काम गरेको छ।

गाउँपालिका अनुदानको रुपमा काम गरिरहनु भएको र शिक्षण पेशालाई आफ्नो आत्मसन्तुष्टिको रूपमा अनुसरण गर्नुभएका शिक्षकहरुको पारिश्रमीक बढाएर राम्रै काम गरेतापनि दिनको ८/९ घण्टा निरन्तर काम गर्ने शिक्षकहरुको श्रमको उचित मुल्यांकन भए जस्तो लाग्दैन।

रुबी भ्याली गाउँपालिका भित्र धेरै वटा आधारभुत विद्यालयहरुमा न्युनतम विद्यार्थी संख्या छैन। यसको लागि दिर्घकालीन योजना भनेको भौगोलिक परिवेशलाई मध्येनजर गरेर विद्यालयहरुलाई एक आपसमा गाभ्नु पर्ने देखिन्छ ।

. स्वास्थ्य                 

स्थानिय सरकारले गरेको धादिङ अस्पतालसँग ‘निशुल्क स्वास्थ्य सेवा सम्झौता’ मार्फत स्थानियलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय प्रशांसनिय छ। यो दिनदुखि र विशेष गरि लक्षित वर्गको लागि अतिआवश्यक पनि हो तर जम्मा तिन महिना (चैत्र, वैशाष र जेष्ठ) महिनाको मात्र तथ्यांक हेर्ने हो भने ९ लाख भन्दा बढि रकम सोधभर्ना आएको छ । यदि यहि अनुपातमा रकम सोधभर्ना हुने हो भने गाउँपालिकाकोकोषको ठुलो हिस्सा यस कार्यक्रम सञ्चालन गर्न खर्च हुने देखिन्छ, जुन हाम्रो जस्तो उल्लेख्य आम्दानी नभएको पालिकाको लागिज्यादै ठुलो रकम हो । जनमुखि र आवश्यकता भएर पनि यसको दिर्घकालिन योजना गर्न नसकेमा पालिका माथि उठ्न नसक्ने भार हुने निश्चित छ।

नीति तथा कार्यक्रममा “सम्झौता परिमार्जन गरि व्यवस्थित गरिनेछ” भनेर मात्र उल्लेख गरेको छ । यसको सट्टामा संघिय सरकारले अपनाएको विमा कार्यक्रमलाई प्रथामिकताका साथ नीति तथा कार्यक्रममा राखि आर्थिक स्तर कमजोर भएको र दलितहरुलाई निशुल्क वा ५० प्रतिशत स्थानिय सरकारले विमा शुल्क बेहोर्ने नीति अगाडि बढाएको भए वास्तविक लक्षित वर्ग लाभान्वित भई सरकारी कोषको न्यायोचित सदुपयोग भएको देखिन्थ्यो । 

. युवा तथा खेलकुद

युवाहरू कुनै पनि देश वा ठाउँको समृद्धि, प्रगति, र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण हुन्।नेपालको जनसंख्यामा युवाको प्रतिशत हेर्दा, जनगणना र सरकारी तथ्याङ्कहरूमा आधारित विवरणहरू अनुसार, नेपालमा युवा जनसंख्या (१५-२९वर्ष उमेर समूह) झन्डै २८-३० प्रतिशत रहेको अनुमान गरिन्छ। यहाँको जनसंख्याको ठूलो हिस्सा युवा भएकोले, उनीहरू देशको विकास, अर्थतन्त्र, र समाजमा महत्त्वपूर्ण भूमिका खेल्छन्।तर लगभग सतप्रतिशत युवाहरुले भरिएको स्थानिय सरकारको टिमले युवा लक्षित कार्यक्रम अगाडि बढाउन नसक्नु दु:खद हो ।

१∕२ वटा खेलकुद सम्बन्धी कार्यक्रम बाहेक नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रम शुन्य छ । मानव सुचंकमा (Human Development Index – HDI) बागमती प्रदेशकै कमजोर रहेको पालिकामा युवा लक्षित कार्यक्रम शुन्य हुनु दुर्भाग्य हो । मानव सुचंकमै प्रदेशकै कमजोर रहेको पालिकाले युवा लक्षित; क्षमता विकास, रोजगारी र उद्यमशीलता, शिक्षा र प्रशिक्षण, स्वास्थ्य र कल्याण, सामाजिक र सांस्कृतिक विकास, नेतृत्व विकास, सामाजिक परिवर्तनर सुरक्षा जस्ता कार्यक्रमहरु प्राथमिकताका साथ व्यापक गराउनुपर्थ्यो ।

युवाहरू कुनै पनि देश वा ठाउँको भविष्य हुन्, र उनीहरूको समुचित विकास र सशक्तिकरण देशको समृद्धि र स्थिरताको लागि अत्यन्त महत्त्वपूर्ण छ। यसैले, युवा लक्षित कार्यक्रमहरूको आवश्यकता अपरिहार्य छ।

. पर्यटन

भौगोलिक रूपमा रुबीभ्याली विकट भएपनि प्राकृतिक रूपमा सम्पन्न भएको हामीसबैलाई थाहा नै छ त्यसैले उक्त प्राकृतिक सम्पदाको व्यापक प्रचारप्रसार मार्फत पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकेको खडामा हामीले दीर्घकालीन रूपमा आर्थिक क्षेत्रमा उच्चतम प्रतिफल हासिल गर्न सक्ने सम्भावना छ।तर १५ ‌औं गाउँपालिका परिषद सम्म आइपुग्दा पनि नीति तथा कार्यक्रममा यस क्षेत्रलाई उच्च प्रथामिकताका साथ दिर्घकालिन योजना प्रस्तुत हुन नसक्नु दु:खद हो ।

पर्यटन ऐन निर्माण गरि देशका विभिन्न मुख्य शहरहरुमा १० देखि १५ सेकेण्डको भिडियो डिस्ल्पे(Display) गरि व्यापक प्रचार प्रसार गरिनु पर्नेमा अहिलेको नीति तथा कार्यक्रम धेरै जसो भौतिक संरचनामै अल्झेको देखिन्छ । पर्यटन प्रबर्द्धन गर्न भौतिक संरचना अपरिहार्य तत्व भएतापनि उक्त क्षेत्र मार्फत दीर्घकालीन लाभ प्राप्त गर्नको लागि पर्यटन ऐन निर्माण गरि सोको नियमन गर्नु अझै अपरिहार्य छ।

. जल विद्युत

स्थानिय सरकारको लागि तत्काल आम्दानि हुने क्षेत्र माध्ये अर्को क्षेत्र भनेको जल विद्युत हो । रुवि भ्यालि गाउँपालिका भित्र ६∕७ वटा हाईड्रो बन्दैछ । जुन राम्रो कुरा हो । यो चाँडो भन्दा चाँडो बन्नु पर्छ र यसको लागि स्थानिय सरकारले खेल्नु पर्ने भुमिकामा कुनै कमजोर हुनुहुँदैन ।

दुर्भाग्यावश दोस्रो स्थानिय सरकारको कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा सम्म हाईड्रो सरोकारवाला समिति बन्न सकेको छैन । कुनै पनि जनप्रतिनिधिको संयोजकत्वमा वा दलिय सहभागितामा सरोकारवाला समिति गठन गर्नु पर्थ्यो । यस समितिलाई नियमंकन गर्नका लागि नियमावली वा कार्यविधि बनाएर स्थानिय र हाईड्रो लगानिकर्ताहरुको बिचमा पुलको सशक्त भुमिका खेल्न खटिनुपर्थ्यो ।अहिले कुनै पनि आधिकारीक समिति नहुँदा व्यक्तिवाद हावी भएको छ भने स्थानियहरुको नजरमा जनप्रतिनिधिहरु शंकाको घेरामा छन् । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समन्वय समिति तथा सरोकार समितिहरुको समेत गठन गरिनेछ।”  भनेर उल्लेख छ यो चाँडै कार्न्वयनमा आओस् ।

. गाउँपालिका प्रहरी

गाउँपालिका प्रहरी अभ्यासमा ल्याउनु राम्रो कुरा हो । सुन्दा अलि खरो लाग्न सक्छ तर आजको दिन सम्म पालिका प्रहरीलाई नतिजामुखि बनाउन सकेको छैन । कार्यविधि अनुसार स्पष्ट ToR बनाएर पालिका प्रहरीलाई नतिजामुखि बनाउन सकेन भने पालिकालाई आर्थिक भार थप्नेमा कुनै शंका छैन ।

अन्तमा, अहिलेको स्थानिय सरकारमा आशा लाग्दो अनुहारहरु छन् । तर पछिल्ला केहि घटना क्रमलाई अध्ययन गर्ने हो भने स्थानिय सरकारको प्रशासकिय सिप र व्यवस्थापकिय दक्षताको अभाव सजिलै देख्न सकिन्छ। अहिलेको जनप्रतिनिधिहरुमा नैतिक संकट (Ethical Crisis) र ज्ञानको संकट (Knowledge Crisis) लगायतका समस्यावाट ग्रसित भएको स्पष्ट देख्न सकिन्छ।जनप्रतिनिधिहरुले तुरुन्तै तल्लो स्तरको भाषामा जवाफ दिनेप्रवृत्तिर मपाईको मानसिकताका कारण जनप्रतिनिधि र कर्मचारीहरुको बिचमा सिर्जना भएको खाडल फराकिलो बन्दै गएको देखिन्छ ।जबसम्म यो खाडल रहिरहन्छ तव सम्म गाउँपालिकाले परिकल्पना गरेकोसुन्दर रुबी भ्यालीबाट समृद्ध रुबीभ्यालीमा परिणत हुने कुनै पनि सम्भावना देखिँदैन ।

यसर्थ कर्मचारी र जनप्रधिनिहरु पूर्वाग्राही हुने भावनाबाट माथि उठि गाउँपालिकालाई समृद्ध तुल्याउन, निर्माण गर्नुपर्ने ऐन, नियम र कार्यविधि बनाई व्यवस्थापनमा व्यवस्थापकिय क्षमता अभिवृद्बि गर्नुपर्छ । अहिलेको जनप्रतिनिधिहरुसँग शंकको छुट छैन। बोल्ने भन्दा गरेर र काल्पनिक सपना बाँड्न छोडेर परिस्थितिलाई बदल्ने दृढ संकल्प लिन सक्नुपर्दछ । “दार्शनिकहरुले विभिन्न प्रकारले संसारको व्याख्या मात्र गरेका छन; मुख्य कुरो त यसलाई बदल्नु हो ।ˮ – कार्ल माक्स । अर्थात् पुरा गर्न नसक्ने उधारो सपना बाँड्दै हिड्नु वा भाषण गर्नु ठुलो कुरो होइन, ठुलो कुरो त अहिलेको परिस्थितिलाई बदल्नु हो । रुबी भ्यालीका जनताले भाषण मार्फत समृद्धि र विकासका धेरै गीतहरु पटक-पटक सुनिसके अब युवा जोश र जाँगरले भरीपूर्ण स्थानीय सरकारले वर्तमान परिस्थिति र अवस्था बदलेको देख्न चाहेका छg\ .  गर्न नसकेको खण्डमा विगतको स्थानीय सरकार र विद्यमान स्थानीय सरकारमा के नै अन्तर होला र ?

About The Author

Loading...