
फाइल तस्बिर
धादिङ – आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा लिइन्छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रोपाई महोत्सव आयोजना गरिएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका र कृषि विकास कार्यालय धादिङले रोपाइ महोत्सवको आयोजना गरेको हो । महोत्सवमा जिल्लास्थित सरकारी कार्यालय र सरोकारवाला निकायको पनि उपस्थिति रहनेछ ।नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । असार महिनामा किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् ।
धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती लगाईदै आएको छ । बार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।
जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिदै आएको कृषि विकास कार्यालय धादिङले जानकारी दिएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।