Sun. Jun 30th, 2024

नेपालभित्रै पहिलो पटक ४ सय केभीको लाइनबाट बिजुली प्रवाह शुरु

काठमाण्डौ – नेपालभित्रै विद्युत् प्रसारण तथा आपूर्तिका लागि आज पहिलो पटक ४ सय केभी डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनमा आजदेखि बिजुली प्रवाह शुरु भएको हो ।

अहिले ढल्केबर–मुजफ्फरपुर ४ सय केभीको अन्तरदेशीय प्रसारण लाइन छ जुन भारतबाट बिजुली आयातरनिर्यातका लागि मात्रै प्रयोग हुँदै आएको छ । आजेदेखि भने देशभित्रै विद्युत् प्रसारणका लागि धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ इनरुवासम्म विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको हो । यो प्रसारण लाइनमा यही असारको २ गतेदेखि बिजुली प्रवाह गरेर परीक्षण भइरहेको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि यो प्रसारण लाइन निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनले ४ हजार मेगावाट बिजुली प्रवाह गर्न सक्छ । माथिल्लो तामाकोशीलगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्न र पूर्वी भेगको बिजुली पश्चिमतर्फ ल्याउन हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन महत्त्वपूर्ण रहेको आयोजनाका प्रमुख श्यामकुमार यादवले बताएका छन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले १ सय ३२ केभी प्रसारण लाइनको क्षमताले विद्युत् भार नधान्दा हिउँदयाममा ढल्केबरबाट इनरुवातर्फ बिजुली पठाउन समस्या थियो, भार धान्न नसकेर लाइन नै चुँडिने अवस्था थियो । तर अब ४ सय केभी प्रसारण लाइनबाट पर्याप्त बिजुली पठाउन सकिने हुँदा भोल्टेज सुधार भई मुख्य रूपमा मोरङ–सुनसरी औद्योगिक करिडोरको बिजुली आपूर्ति सुधार हुनेछ । यस्तै मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप बिजुली आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको बिजुली निर्यात गर्न यो प्रसारण लाइन महत्त्वपूर्ण छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङको हेटौँडा सबस्टेशनबाट इनरुवा सबस्टेशनसम्म २ सय ८८ किलोमिटर लामो प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण शुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १ सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा १ सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड २०६९ सालमा शुरु भएर अहिले ११ वर्षमा निर्माण सम्पन्न भएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: