११ भदौ धादिङ – मलेसीयामा सुरु भएको एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले यूएईलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मलेसियाको बासोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम चार बल खेल्नु अघि सबै विकेट गुमाएर १९९ रन बनाएको थियो । नेपालको सुरुवात भने राम्रो रहेन । ओपनर सुनिल धमला मात्र १ रनमा आउट हुँदा टीमको स्कोर मात्र ३ रन थियो । त्यसपछि पनि नेपाली ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् र ६५ रन जोड्दा ५ विकेट गुमायो ।
सन्दिप सुनार १८, आरिफ शेख २२, राजवीर सिंह ५ र योगेन्द्रसिंह कार्की २ रनमा आउट भए । तर, कप्तान राजु रिजालले कप्तानी पारी खेले । उनले छैटौ विकेटका लागि दिपेन्द्रसिंह ऐरी र सातौं विकेटका लागि शौरभ खनालसँग समान ५२ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत २० रनमा आउट भए भने खनालले २४ रन जोडे ।
राजु रिजालले ८४ बलमा ६ चौका र एक छक्काको मदतमा ६२ रन बनाए । प्रेम तामाङ १, सुशील कँडेल ६ रनमा आउट भए भने दिपेश श्रेष्ठ १२ रनमा अविजित रहे । यूएईका जाफरी जफरदीनले तीन विकेट लिए ।
२ सय रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको युएई ५० रनमै समेटिन पुग्यो । नेपालका सुशील कँडेल ४, सुनिल धमला ३ र प्रेम तामाङले २ विकेट लिएपछि युएई २०।५ ओभरमै समेटिन पुग्यो । युएईका लागि परेराले ३२ र जाफ्री जफारदिले १२ रन बनाउनु बाहेक अन्य कुनैले पनि दोहोरो अंक जोड्न सकेनन् ।