१० भदौ, भक्तपुर – बिहीबार बिहान परेको भीषण पानीले भक्तपुर हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन प्रभावित बनेको छ ।
बाढीका कारण अरनिको राजमार्ग, अस्पताल, बिद्यालय, भूकम्प पीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुवानमा परेका छन् ।
भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडितको ८ सय ५० जना बस्दै आएको शिविर डुवानमा परेको छ भने सिद्वी स्मृती अस्पताल, इवामूरा अस्पताल, शान्ति निकेतन मा.बि. पनि डुवानमा परेको छ । बाढीकै कारण अरनिको राजमार्ग अवरुद्व भएपछि यात्रुहरु पैदलै गन्तव्यतर्फ लागेका थिए ।
वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेँमा पहिरो जाँदा करिव २ घण्टा सडक अवरुद्ध बनेको हो । अहिले उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्ला जाने सवारीसाधन र उताबाट उपत्यका आउने सवारीसाधनको जाम बढेको छ ।