Mon. Nov 25th, 2024

मधेशमा पानीको हाहाकार, २५ दिन हिँडेर सरकार खोज्दै काठमाण्डौ

काठमाण्डौ – सिरहाको लहान नगरपालिका वडा नम्बर २ की संगीतादेवी सदै चुरेक्षेत्र संरक्षणको माग गर्दै साथीहरूसँग २५ दिन हिँडेर काठमाण्डौ आएका छन्।

काठमाण्डौको माइतीघरमा त्रिपाल ओछ्याएर बसेकी संगीताले सुन्निएको खुट्टा देखाउँदै भने, ‘यो देशमा सरकार छैन, यदि सरकार हुन्थ्यो भने हाम्रो माग जिल्लामै उठाउँदा कसैले त सुन्थ्यो होला । त्यसैले हामी अहिले सरकार खोज्न हिँडेर काठमाण्डौ आएका छौँ ।’ यसरी काठमाण्डौ हिँडेर आएको यो तेश्रो पटक हो ।

सरकारले दुई पटकसम्म समस्या समाधानमा चासो नदेखाएपछि बाध्य भएर हिँडेरै आउन परेको चुरे दोहनबाट पीडित संगीताले बताए । पानीको अभाव हुँदा खेतीबाली सप्रिएको छैन । पहिले घरकै बारीमा तरकारी उब्जनी हुने गरेकामा अहिले महङ्गोमा तरकारी किन्नु परेको उनको भनाइ छ । चुरे दोहनले गर्दा जङ्गल पनि सखाप हुन थाल्यो । जङ्गली जनावर पानीको खोजीमा गाउँ पस्न थालेका छन् ।

‘घरको चापाकल, पोखरी, इनार र खोलामा पानी सुक्यो । पानी आए पनि कहिलेकाहीँ मात्र आउँछ । लुगा धुन, नुहाउन, खेतीपाती गर्न, भैँसी र गोरुलाई खुवाउन पानी छैन,’ संगीताले भने, ‘आएको पानी पनि शुद्ध छैन । पानीमा बालुवा नै बालुवा आउँछ । त्यही खाएर हामी धेरै पटक बिरामी भएका छौँ ।’

संगीतादेवीको मात्रै होइन चुरे दोहनले धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १८ का दीपलाल मुखिया बिनलाई पनि समस्या छ । ‘पानी सुकेको दुई वर्ष भयो । आकाशबाट पानी परेको छैन । खेतीपाती गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘खानेपानी नभएर बोतलको पानी किनेर खान परिरहेको छ ।’ मजदुरी गरेर जीविकोपार्जन गर्ने दीपलाललाई दैनिक पानी किनेर खानु पर्दा निकै सकस परेको छ ।

मधेश प्रदेशका सिरहा, धनुषा, बारा र रौतहटका २५ जनाको टोली २५ औँ दिनमा हिजो काठमाण्डौको माइतीघरमा आइपुगेको हो । उनीहरु पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह, ढल्केबर, हेटौँडा, चितवन, मुग्लिङ हुँदै काठमाण्डौ आएका हुन् ।

पैदल यात्रामा सहभागीले प्लास्टिक र टिनको भाँडामा ‘सरकार पानी देउ, पानीका लागि रुख बचाउ, चुरे र वनको संरक्षण गर’ लगायतका नारा लेखेर प्रदर्शन गरेका छन् । एक जोर चप्पल लगाएका उनीहरुको खुट्टा सुन्निएका छन् । माइतीघरमा त्रिपाल ओछ्याएर बसेका उनीहरु सरकारसँग समस्या समाधान गरिदिन माग गरिरहेका छन् ।

सप्तरीबाट हिँडेर आउनेहरुको नेतृत्व गर्नुभएका चुरे तथा वन जङ्गल संरक्षणका अभियन्ता सुनिल यादव चुरे क्षेत्र नजिक भएका वन जङ्गल बचाउन र अवैध उत्खनन् रोक्नका लागि आन्दोलन गरेको बताउनुहुन्छ । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार स्थानीयबासिन्दाले खेप्नु परेको यादवको भनाइ छ । ‘भूमिहीनको नाममा वन मास्ने काम हुँदैछ । वन मासेर नक्कली भूमिहीनले आफ्नो नाममा जग्गा गराएका छन्’ उहाँले भन्नुभयो, ‘हडपेको वन र सार्वजनिक जग्गा फिर्ता हुनुपर्छ । वास्तविक दलित भूमिहीनलाई सरकारले जग्गा दिनुपर्छ ।’

यसअघि चुरे तथा वन जङ्गल संरक्षण अभियानले दुई पटक पैदल यात्रा गरेको थियो । अभियानका संयोजक यादवकाअनुसार यसअघि पहिलो पटक अघिल्लो वर्षको असारमा वीरगञ्जदेखि काण्माण्डौ ११ दिनमा, दोस्रो पटक फागुनमा सप्तरीदेखि वीरगञ्जसम्म ११ दिन पैदल यात्रा भएको थियो ।

About The Author

अन्य समाचारहरु: