Wed. Mar 5th, 2025

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

प्रधानमन्त्रीलाई विश्वासको मत काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्राप्त । सोमबार प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो । २०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाउनुभएको थियो ।

सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गर्दै आएको छ । आज पनि बिहान साढे ११ बजे बसेको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गरेका थिए ।

बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरेपछि बल्ल प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा जान पाएका थिए । विश्वासको मत माग्दै प्रचण्डले नेपाली कांग्रेसको आजको गतिविधि इतिहासमा कलङ्कको रूपमा स्थापित हुने बताए । प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेलामा नाराबाजी गरेर र बेल घेराउ गरेर कस्तो पद्धतिको विकास गर्न खोजेको हो भनेर उहाँले सोधेका छन्।

About The Author

अन्य समाचारहरु: