Mon. Mar 17th, 2025

फेरी बर्खा लाग्यो, अझै बनेन सिरान बजारमा भासिएको सडक

रिता कुमारी मगर (चिनो सारु)

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानबजारमा सडक भासिएको अझै मर्मत हुन सकेको छैन ।
कहिले सांसद, कहिले नगरप्रमुख त कहिले मन्त्रीहरुले पालैसंग दीर्घकालिन रुपले सडक मर्मत गराउने आश्वासन दिएपनि नौ वर्षसम्म यो सडक मर्मत सुरु हुन सकेको छैन । बर्सेनि सडकको अवस्था बिग्रदै गएको छ ।

२०७२ सालको भुकम्पले चिरिएको सडक अहिले आधा भाग नै भासिएको छ । झण्डै दुई मिटर तल भासिएको सडकले दुर्घटनाको जोखिम त बढाएको छ नै सडक मुनिपट्टी र माथिपट्टीका घरहरु जोखिममा छन् ।

२०८० साल भदौ २ गते शनिबारका दिन बागमती प्रदेशको मुख्यमन्त्री शालिकग्राम जम्कट्टेलले दलबलसहित सडक भासिएको ठाउँमा पुगेर एक साताभित्रै सडक मर्मत सुरु गर्ने आश्वासन दिएका थिए । प्रादेशिक सडक सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहाललाई फिल्डबाटै फोन गरेर निर्देशन मात्रै दिएका थिएनन् दाहाललाई सडक भासिएकै ठाउँमा बोलाएर दिर्घकालिन मर्मतको डिपिआर तयार गर्न र प्रदेश सरकारलाई पठाउन पनि निर्देशन दिएका थिए । तर, मुख्यमन्त्री जम्कट्टेलको निर्देशन सडक डिभिजन कार्यालय धादिङका प्रमुख दाहालले मानेन् की डिपिआर पठाएर पनि मुख्यमन्त्रीको कार्यालयले वास्ता गरेन दुबैपक्ष मौन बसेको छ ।

प्रदेश सरकारको विपद कोषबाट तत्काल सडक मर्मत गराउने र थप क्षति हुन नदिन तत्काल मर्मत गर्ने प्रतिवद्धता अहिले मुख्यमन्त्री जम्कट्टेलले पनि बिर्सिएजस्तै गर्दा यो बर्खामा जोखिम अझ बढेको छ । पैदल हिड्न र गाडीहरु हिँडाउन पनि निकै जोखिम छ ।

About The Author

अन्य समाचारहरु: