धादिङ- एमालेलाई राष्ट्रिय शक्ति हुनबाट कसैले रोक्न नसक्ने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुुब्बा गुुरुङले बताएका छन् ।
नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सम्बोधन गर्दै एमालेले २०८४ मा आफूले बहुमत ल्याउने दावी गरेका छन्। समाजवादको आधार तयार गर्न एमाले एक्लै निर्णायक शक्ति हुनेभएपनि सबै बामपन्थी शक्तिहरु मिलेर समाजबाद उन्मुख निति कार्यक्रम ल्याउने गुरुङको भनाई छ ।
समाजवादको आधार तय गर्ने खालका कार्यक्रम र योजना पालिकास्तरमा बनाउन कार्यकर्तालाई अनुरोध गर्दै एमाले स्पष्ट, निति, विचार, सिद्धान्तका आधारमा नेतामुखी नभइ पार्टीमूखी हुनुपर्ने बताए। संसरकै राम्रो र जनताले रुचाएको लोकप्रियि पार्टी भएकोले यसले चरम दक्षिणपन्थी र उग्रपन्थीसंग तालमेल नगर्ने बताउँदै उपमहासचिव गुरुङले एमाले विकासको सम्बाहक, भ्रष्टाचार निर्मूल, सुव्यवस्था कायम गर्ने पार्टीको रुपमा विकास भएको तथ्यले देखाएको दावी गरेका छन् ।
त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले एमालेले संगठन निर्माणका उत्कृष्ठ काम गर्दै धादिङ जिल्ला उत्कृष्ठ भएकोले अब विकासको आधारसहित अघि बढेर निर्वाचनमा समेत उत्कृष्ठता हासिल गर्ने बताएका छन् । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडाले एमालेले जित्नेगरि संगठन निर्माण गर्दै सक्रिय भएर काम गर्न आग्रह गरे।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले हामी जित्न सक्दैनौँ भन्ने मानसिक डर हावी भएकोले मत धेरै भएर पनि प्राविधिक रुपमा हारेको बताएका छन्।
मिसन ८४ मा नीलकण्ठ नगरपालिका मात्र नभइ धादिङमा १३ पालिका र १०४ वडा जितेर एमाले झण्डा पहराउने दावी गर्दै एमालेलाई हार्ने छुट नभएको बताउदै जनता र पार्टीको काम नगरि माथीको आशिर्वादले टिकट नपाइने भन्दै जनताका लागि काम गरेर टिकटले आफूलाई खोज्ने बनाउनु पर्छ, एमाले धादिङका अध्यक्ष त्रिपाठीले भने ।
नेकपा एमाले नीलकण्ठ नगर कमिटिका अध्यक्ष दयाराम लम्सालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, निलकण्ठ नगरपालिका इन्चार्ज बेधनिधि पाठक लगायतले शुुभकामना व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा यु-१९ भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई दोस्रो स्थान दिलाउन योगदान दिने इज्जत दनैलाई सम्मान गरिएको छ । त्यसैगरी पार्टीका सेल्टरदाता र संस्थापक तथा जेस्ठ कार्यकर्तालाई पनि सम्मान गरिएको छ ।
२ सय ३३ जना प्रतिनिधि रहेको अधिवेशनले नेकपा एमाले नीलकण्ठ नगर कमिटीको ५१ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटिको निर्वाचन गर्नेछ ।