काठमाडौँ।-अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् ।
तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए। उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे ।
“सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गरेका छन् । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, उनले भने , “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।”
लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उनको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताए । भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताए ।