काठमाडौं – गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले दाबी गरे ।
इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए ।
उनले भने, ‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ । कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ । गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन । तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ ।’
‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन ।’
आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध परिचालित मान्छेले अफवाह फैलाइरहेको लामिछानेले बताए ।