काठमाडौं – यतिबेला केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ले सेलिब्रेटीलाई कोसेलीको रुपमा केक पठाइरहेको छ । कार्यालयदेखि सेलिब्रेटीको घरमै केकीले केक र नयाँ वर्षको शुभकामना पत्र पठाइरहेकी छन् ।
वैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको यो काइदा गजबको मान्नुपर्छ । केक पाउने कलाकारले पनि सामाजिक सञ्जालबाट ‘बोक्सीको घर’को यो कोसेलीको फोटो र भिडियो सेयर गरिरहेका छन् ।
केकीको कोसेली पाएपछि सेलिब्रेटीले फिल्मको व्यावसायिक सफलताको शुभकामना पनि दिइरहेका छन् । बोक्सी कुप्रथाबारेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।
फिल्ममा केकीको शीर्ष भूमिका छ । रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोलाले पनि अभिनय गरेका छन् । फिल्ममा समावेश गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चामा छ ।