– रमेश अधिकारी
नववर्ष २०८१ को स्वागतमा छौं हामी यतिखेर । भित्ताको क्यालेण्डर त निश्चय नै फेरिन्छ, के हाम्रो अवस्था पनि फेरिएला ? के हामी हाम्रो दिनचर्या पनि फेर्छौं ? फेर्ने हो भने २०.२७ प्रतिशत गरीबहरुको जिन्दगी फेर्नुपर्छ, ७८ औं स्थानमा रहेको तुलनात्मक खुशीको अवस्थालाई फेर्नुपर्छ, १४३ औं स्थानको मानव विकासको सूचकांङ्कलाई फेर्नुपर्छ । सोमालिया हुनसक्ने बाटोमा ११० औं स्थानको भ«ष्टाचारलाई हटाउने हो ? ११६ औं स्थानको लैंगिक असमानता घटाउने प्रतिबद्धता आउँछ ? असमानताको ११२औं स्थानमा सुधार आउला ? ६९औं स्थानको कानुनको शासन कति प्रतिशतमा झर्छ ? भोकमरी सूचकांङ्कको ८१ प्रतिशत र खाद्य सुरक्षाको ७४ औं श्रेणीमा सुधार हुन्छ त ? संसारकै उत्कृष्ट प्रजातन्त्र छ भन्ने देश नेपाल प्रेस स्वतन्त्रताका हिसावले ९५औं र आर्थिक स्वतन्त्रताका हिसावले १४औं स्थानमा छ अझै । आतंकवादको ३६औं श्रेणीलाई शून्यमा झार्ने प्रतिवध्दता गर्ने हो ? ९९औं स्थानको दीगो विकासको अवस्थामा कसरी सुधार हुन्छ ? कोभिड र भूकम्प देखावटी कारण हुन्, देशलाई सधैं संक्रमण कालमा राख्ने नकचरो राजनीतिक सत्तालिप्सा मुख्य कारण हो । यथास्थितिमा नयाँवर्ष २०८१ संग कति अपेक्षा गर्न सकिएला ?
२०८० लुछाचुँडीमा वित्यो, अर्थतन्त्र करीब टाट पल्टियो, लगानी ठप्प भयो, ब्यवसाय चौपट भयो । उद्यमी ब्यवसायीहरु पलायन भए । जनताको उठीबास भयो बैंक र वित्तिय क्षेत्रमा पैसा थुप्रियो, अर्थतन्त्र केही ब्यक्तिको हातमा पुग्यो । रेमिटेन्स देखाएर सरकारले आफ्नो असफलताको लाज छोप्यो । अब २०८१ मा सरकारमा हुनेले उकास्छन् अर्थतन्त्र ? दिन्छन् जनतालाई ढाडस ? बढ्छ लगानीकर्ताको मनोबल ? विश्वास गर्छ दाताले ? चलायमान हुन्छ त बजार ? उत्पादन क्षेत्रको अवस्था सुध्रिएला त ? घण्टा गनेर श्रम स्वीकृत दिएर बाँच्छ र मुलुक ? जनशक्तिको पलायनबाट कि परिचालनबाट आउने हो संवृध्दि ? नयाँवर्षमा पनि हामी उल्टो बाटैमा हिंड्ने हो र ?
तीस वर्षसम्म पनि देशको अवस्था जहाँ को तहीं हुनु दुर्भाग्य हो । राजनीति गर्नेहरुले यत्रो अवधिसम्म पनि परिवर्तनको आभास दिनु पर्दैन ? कति समय लाग्ने हो परिवर्तनलाई संस्थागत गर्न ? बीस वर्ष भो शान्ति पकृयाको काम अलमलिएको । कार्यान्वयनमा नआउँदै प्रश्न उठ्न थाल्यो संघीयता माथि । संविधानमा लेखेको भरमा आउने हो कि जनताको सम्पन्नताको अवस्थामा आउने हो समाजवाद ? यो बेथितिको जिम्मा कसैले लिनु पर्दैन ?
राजनीतिप्रति युवाहरुको चरम निराशा छ, मुलुकका लागि यो राम्रो संकेत होइन । राजनीति सुन्ने बित्तिकै ठसठसती गन्हाएको नेताको आकृति आउने भयो दिमागमा । नेपालमा दलहरुको दबदबाको इतिहास लामो छैन, एकै पुस्तामा यो वितृष्णा फैलिइसकेको छ । हिजो कोही युवा थिए आज कोही युवा छन् । यसले केही फरक नपर्ने संकेत देखिइसकेको छ । एउटा भनाइ छ नि २० वर्षको नौ जवान हुँदा उसले देश बनाउने सपना देख्छ, बरा एक्लै के बन्थ्यो देश, बन्दैन अनि ३० वर्षको हुँदा देश त नबन्ने रै छ म मेरो जिल्ला बनाउँछु भन्ने सपना देख्छ रे, त्यो पनि बन्दैन, अनि ४० को हुँदा गाउँ बनाउने सपना देख्छ रे, अहँ त्यो पनि संभव भएन अनि ऊ टोल सुधार तिर लाग्छ, उसले त्यहाँ पनि केही लछार्दैन अनि आफ्नो घर भने पनि बनाउँछु भनेर फर्किन्छ ५० वर्षमा, तर त्यतिवेला परिवारले पनि उसलाई गन्दैन र अन्त्यमा आफू बन्नुपर्ने रहेछ पहिले भन्ने कुरा बुझ्छ तर ढिला भै सकेको हुन्छ । अहिले हाम्रो दुर्गती यै हो । आफू केही बनेका छैनौं तर अरुलाई बदल्ने गफ गरीरहेका छौं ।
२०८१ ले एउटा कुरा सिकाओस् हामीलाई कि विद्वानहरुले भने झैं एकजना मानिस बदलियो भने यो संसार बदलिन्छ र त्यो एकजना भनेको म हो, म बदलिंएँ भने मेरो आफ्नो संसार बदलिन्छ । नयाँ वर्ष २०८१ मा म बदलिने प्रतिबध्दता गरौं, बाँकी दुनियाँ मेरा लागि बदलिन्छ भन्ने विश्वास गरौं । म का खराबीहरु पहिल्याउँ र म लाई बदलौं । मेरा लागि दुनियाँ बदलिंदैन अब, मैले मेरै दुनियाँ बदल्नु पर्छ । नयाँ वर्षको हार्दिक शुभकामना ।