Fri. Mar 28th, 2025

मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय

ललितपुर – ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि गाउँको परिचय बिस्तारै हराउँदै गएको छ । सङ्घीय मन्त्रीका लागि ९६ रोपनीसहित प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि २७ रोपनी १२ आना जग्गामा आवास निर्माण भएपछि मगर गाउँको परिचय नै आवास क्षेत्र बन्दै गएको हो ।

शाहकालीन राज्यदेखि नै मगर गाउँको इतिहास छ । नेपाल एकीकरण गर्ने क्रममा बहादुर मगर जातिले आफूलाई ठूलो सहयोग गरेको भन्दै १७६९ सालमा पृथ्वीनारायण शाहले ललितपुरको भैँसीपाटीमा गोरखा जिल्ला पीपलथोक धातथलोका जगजजित थापालाई पाँच सय रोपनी जग्गा लालमहोहर लगाएर दिएको इतिहास शिलालेखमा उल्लेख गरिएको इतिहासका जानकार एवम् स्थानीय राजेश पन्तले बताएका छन् ।

मन्त्री आवास निर्माण शुरु भएदेखि आवास क्षेत्रमा बाटो फराकिलो, बस्ती सुरक्षा तथा पार्क हुनुपर्ने माग राख्दै स्थानीयले विरोध गरेका उनले बताए । ऐतिहासिककालदेखि स्थापित भएको गाउँको परिचय गुम्ने हो कि भन्ने चिन्ता बढेको पन्तको भनाइ छ ।

मगर गाउँ चोक छेउमा २०६५ सालमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर छ । त्यही मन्दिरको मुख्य गेटमा मगरगाउँको इतिहास झल्किने शिलालेख तयार गरिएको छ । मन्त्री आवास निर्माण नहुँदासम्म आवास क्षेत्र खेतीयोग्य जमिन रहेको मन्दिरका पुजारी सुदर्शन अर्यालले बताए । प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण सकिएपनि सङ्घीयमन्त्रीको आवास निर्माणको काम सकिएको छैन ।

About The Author

अन्य समाचारहरु: