काठमाडौं – बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
१६४ रनको लक्ष्य आर्मीले १९।१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । आर्मीका लागि बसिरले २८ बलमा ५ चौका र २ छक्कासहित नटआउट ५० रन बनाए । त्यस्तै सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए । सुदूरपश्चिमका दीपक बोहराले दुई, हेमन्त धामी र नरेन साउदले एक(एक विकेट लिए ।
बैजनाथपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।