धादिङ– दुबै मृगौला फेल भएर अस्पतालको शैयामा छटपटाइरहेका नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय बिजय खनालको उपचारमा सहयोग संकलन हुने क्रम जारी छ ।
उपचार गर्दागर्दै जायजेथा समेत सकिने अवस्था आएपछि विजयका छिमेकी र आफन्तहरुले विजय बचाउ अभियान नै चलाएर सहयोग संकलन सुरु गरेका छन् । आर्थिक सहयोग संकलन घरदैलो अभियान गरेर अस्पतालको बेडमा छटपटाइरहेका विजयका छिमेकी र आफन्तहरुले गाउँमा आर्थिक सहयोग संकलन अभियान चलाएका हुन् ।
सहयोग संकलनको क्रममा नीलकण्ठ नगरपालिका–१२ को धनसारपाखादेखि बडारेसम्मको घरदैलोमा ५८ हजार चार सय ७५ रुपैंया संकलन भएको विजय बचाउ अभियानकी गीता खनालले जानकारी दिइन् । घरदैलोमा भेटिएका दाताहरुबाट ५० रुपैंया, एक सय रुपैँया भन्दा माथी जो सकेको सहयोग संकलन भएको उनले जानकारी दिएकी छन् ।
पारिवारिक रुपमा अत्यन्तै कमजोर रहेको खनाल परिवारको सबै जग्गा जमिन विक्रि गर्दा पनि उपचारमा नपुग्ने अवस्था भएकोले बाध्य भएर आर्थिक सहयोग संकलन अभियान चलाइएको हो । दुबै मृगौला फेल भएकोले मृगौला फेर्नका लागि सहयोगको याचना गर्दै स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदसिय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।
धादिङ अस्पतालमा हप्ताको २ दिन डायलासिस गर्ने गरेको विजयको मृगौला फेर्नु पर्ने र परिवारभित्रबाट मृगौला दिने मानिस भएपनि सो कामका लाग्ने खर्च पु¥याउन नसकेका कारण खनाललाई बचाउन सबै मिलेर लागिएको संयोजक गिता खनालले बताइन् ।
विजय खनाल बचाउ अभियान अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखाको खाता नम्बर २५८०१००७६७००५२०००००१ मा विरामी विजय खनाल र आमा मिना खनालको नाममा खाता संचालन गरिएकोले सम्पूर्ण देश विदेशमा बस्ने सबैलाई विजय खनाललाई बचाउन आग्रह गरिएको छ । थप जानकारीका लागि विरामीका आमा मिना खनालको ९८६१३४४७६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।