Tue. Nov 26th, 2024

चार विश्वविद्यालयमा उपकुलपति सिफारिस

TU_building

काठमाडौँ  -चारवटा विश्वविद्यालयका लागि उपकुलपतिको सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल र सुदूरपश्चिम विश्वविद्यालयका लागि उपकुलपति सिफारिस भएको हो । शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले कुलपति रहेका प्रधानमन्त्री सुशील कोइरालालाई शनिबार उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस नाम प्रधानमन्त्रीले सदर गरेसँगै उपकुलपति नियुक्ति हुनेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले चार विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस भएको पुष्टि गरे । स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयमा प्रा।डा। तीर्थराज खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा। कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा।डा। घनश्यामलाल दासको नाम सिफारिस भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक भूषण श्रेष्ठ, प्रा।डा। अम्मराज जोशी र अक्कलदेव मिश्रको नाम सिफारिस भएको छ । विश्वविद्यालयको नियमअनुसार सिफारिस समितिले कुनैमा एक तथा कुनैमा तीनजनाको नाम सिफारिस गरेको हो ।

समितिले पोखरा, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने उपकुलपतिको सिफारिस गरेको छैन । प्रधानमन्त्री कोइराला तथा समितिका संयोजक र सदस्यबीच उपकुलपति नियुक्तिको विषयमा शनिबार छलफल भएको थियो । छलफलका क्रममा सिफारिस समितिले नाम सिफारिस गरेको हो । २३ साउनदेखि सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् ।

सात विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गर्न लागिएको स्रोतको दाबी छ । अहिले कांग्रेसको भागमा परेका विश्वविद्यालयका लागि नाम सिफारिस भएको स्रोतको भनाइ छ । बाकी तीनमध्ये दुईवटा विश्वविद्यालयमा एमाले र एउटामा एमाओवादीनिकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले २३ साउन ०६८ सातवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । त्यसवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति नियुक्ति गरिएको थियो । अहिले कांग्रेसको भागमा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयसहित चारवटा विश्वविद्यालय परेका छन् । नयापत्रिकाबाट

About The Author

अन्य समाचारहरु: