धादिङ – सहकारीको दिगो विकासका लागि संचालक समितिहरुको निर्णयबाट भन्दा पनि नीति नियम अनुसार सहकारी संचालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रबार धादिङ संचार सहकारी संस्थाले सहकारीको दिगो विकासका लागि संस्था सुदृढिकरण विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारी सस्था सवल र सक्षम बन्नको लागि सहकारीको नितिनियम अवलम्वन गर्नुपर्नेमा जोड दिएका हुन । त्यस्तै पछिल्लो समय सहकारीहरु आफुमात्रै समृद्ध भन्दै गएको तर सहकारीका सदस्यहरुको उल्लेख्य उन्नती हुन नसकेको भन्दै सहकारीले आर्थिक कारोवार मात्रै भन्दा पनि साना ब्यवसायीहरुलाइ उद्यमशिल बनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा धादिङ संचार सहकारी सस्थाका अध्यक्ष राजेन्द्र बस्नेतले कार्यपत्र प्रस्तुत गर्दे सहकारीले आगामी महिनादेखि सहकारीका विविध गतिविधि र सरोकारहरु समेटेर सहकारी सरोकार नामक त्रैमासिक पत्रिका प्रकाशित गर्न लागिएको जानकारी दिए । कार्यपत्र माथि टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले राज्यले सहकारीहरुसंग एकदमै चर्को कर असुल गरिरहेको बताए । कम कर लगाउनको लागि राष्ट्रिय सहकारी संघले पहल गरिरहेको बताउदैे सहकारीहरु पुर्ण रुपमा ब्यवसायिक बन्नको लागि राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताहरुलाइ आत्मसाथ गर्दै आफ्नो उद्देश्य र प्रकृति अनुसारको काम गर्न जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यलय धादिङका सहकारी अधिकृत कृष्ण बहादुर बोहोराले सहकारी–सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा नभइ समन्वयात्मक ढङगले अगाडी बढ्नुपर्ने र त्यसका लागि समय–समयमा सहकारीका संचालकहरुवीच समन्वयात्मक अन्तरक्रिया गरिनुपर्ने धारणा राखे । साथै आफैले बनाएको बिनियम अनुसार सहकारी चल्न सकेको खण्डमा सहकारी आँफै सफल हुने बताए ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्र पौडेल, सचिव शान्तविक्रम बानिया, नेपाल पत्रकार महासंघ धादिङमा अध्यक्ष नवराज छत्कुली लगायतले भर्खरै स्थापना भएको धादिङ संचार सहकारीको प्रगतीको कामना गरेका थिए । कार्यक्रममा धादिङमा क्रियाशिल ५० भन्दा बढी सहकारीका संचालक र प्रवन्धकको सहभागीता रहेको थियो ।