४ भदौ, काठमाडौ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जतिसुकै विरोध भए पनि भदौ २५ गतेभित्र संविधान जारी हुने दाबी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले नेपाली जनताले छिटो भन्दा छिटो संविधान जारी होस भन्ने चाहेकोले जतिसुकै विरोध भएपनि संविधान जारी गर्नु पर्ने भन्दै संविधान बन्न लागेको बेलामा कुनै पनि बहानामा तगारो हाल्ने प्रयास भईरहेकोले यसबाट नरोकिने स्पष्ट पारे ।उपाध्यक्ष रावलले भने– पहिला तराईको एक ईन्च भूमि पहाडमा मिल्न दिदैनौ भन्नेहरु अहिले तराईमा पहाड खोइ भन्ने प्रश्न उठाएका छन ।
रावलले लोकतन्त्रमा आफ्नो कुरा राख्न पाइने भए पनि वैधानिक बाटोबाट राख्नु पर्ने सुझाव दिए ।कैलालीको टिकापुरमा साम्प्रदायिक भावना भड्काउने गरी केही नेताहरुले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले जात गोत्र र संस्कार नमिल्नेहरुले साम्प्रदायिकता भडकाउन जनता उकास्न थालेकोले यसले अधिकार भन्दा उत्तेजना फैलाउने योजनामात्र भएको दावी गरे । रावलले आन्दोलनमा मर्न आह्वान गर्दै ५० लाख दिने घोषण गर्नु हास्यास्पद भएको टिप्पणी गरे । मस्यौदा समितिले जनताबाट आएको सुझावको विश्लेषण गरेर अन्तिम मस्यौदा विधेयक तयार पारेर संविधानसभामा पेश गर्न तयारी गरिरहेको उनले बताए ।