काठमाडौँ – मानव सिर्जित समस्याका कारण हिमनदी र हिमालमा हिउँ पग्लिरहेको छ । हिमताल फुटिरहेका छन् भने अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टिका समस्या दिन प्रति दिन बढ्दै गएको छ । खडेरी, जंगलको आगलागी, अत्याधिक वर्षा वैज्ञानिकहरुले आँकलन गरेको भन्दा छिटो गतिमा बढिरहेको छ । यसलाई विज्ञहरुले जलवायु परिवर्तनकै एक कारणका रुपमा लिएका छन् । यस्तो भयावह अवस्थाबारे के भन्छन् त विज्ञहरु ।
मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन् । जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेका छन् । नेपालजस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्यासित विपद्को सामना गर्नुपरिरहेको छ ।
विश्व बैङ्कको प्रतिवेदनले पनि आगामी ५० वर्षमा तापमानमा एक दशमलव पाँच प्रतिशतले वृद्धि हुँदा पनि पाँच प्रतिशत भौतिक पूर्वाधारका संरचना नष्ट हुने प्रक्षेपण गरिसकेको छ । यसबाट जलवायु परिवर्तनको भयावह स्वरूपको अनुमान निकै त्रासदीपूर्ण हुने विज्ञहरूले आशंका गरेका छन् । अझ भौतिक पूर्वाधारका संरचनामा पर्ने प्रभाव नेपालका लागि सबैभन्दा ठूलो क्षति हुने देखिन्छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि राज्यबाट गरिएका प्रयास र लगानीनै अपुग भएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने र निर्णय हुने भएपनि कार्यान्वयन नहुँदा नेपाल जलवायु परिवर्तनको विषयमा संवेदशील नभएको अनुभव विज्ञहरूको रहेको छ । जलवायु परिवर्तनमा विषेशगरि नेपालले हिमालको मुद्दालाई शक्तिशालि बनाउन जरुरी रहेको विज्ञहरूले औलाएका छन् ।
जलवायु परिवर्तन तथा विपद्को कारणले गर्दा २ देखि ४ प्रतिशतसम्म जिडिपीमा नोक्शानी भैरहको छ । विपद्पछिको उत्थानशिलता र विपद् पछाडीको पुनःस्थापनामा लगानी बढाउनुपर्नेमा पनि विज्ञको जोडरहेको छ । अर्कोतर्फ १६ औँ पञ्चवर्षिय योजनामा पनि जलवायु परिवर्तनका विषयहरु खासै समेटिएका छैनन् । जलवायु परिवर्तनका अन्र्तसम्बन्धित विषयहरुलाई जोडेर लगियो भने मात्रैे क्षति, हानी, नोक्शानी कम हुने देखिन्छ ।