Thu. Mar 6th, 2025

आज राष्ट्रिय सूचना दिवस, सूचनाको हकको उपयोग न्यून

suchana  aayoj

३ भदौ, चितवन – आज राष्ट्रिय सूचना दिवस । सूचनाको हक लागू भएको आठ वर्ष पुगिसक्दासमेत हकको प्रयोग भने न्यून छ । हक प्रयोग गर्नेमा पनि केही विद्यार्थी र पत्रकार भएपनि सर्वसाधारणले भने नगन्य मात्रै सूचनाको हक प्रयोग गर्ने गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सूचनाको हक प्रयोग अत्यन्तै कम रहेको बताए । उनले मौखिक सूचना आदानप्रदान हुने गरेपनि लिखितमा आउने कम भएको जानकारी दिए ।

चितवन जिल्ला प्रशासनमा सहायक प्रजिअलाई सूचना अधिकारी तोकिएको छ । यस्तै जिल्ला विकास समिति चितवनमा बलराम लुइँटेललाई सूचना अधिकारी तोकिएको छ । लुइँटेलले सूचनाको हक प्रयोग गर्नेमा पत्रकार धेरै रहेको र केही विद्यार्थी रहेको भएपनि हक उपयोग न्यून रहेको बताए ।

सर्वसाधारणमा चेतनाको कमी हो या अन्य कारणले हक प्रयोग नहुने गरेको लुइँटेल बताउछन् । जिविसमा गएको एक वर्षमा दुई दर्जनभन्दा बढी सूचनाको हक प्रयोग गरी निवेदन परेको थियो, तर धेरै सर्वसाधारण हकबारे अनभिज्ञ छन्, उहाँ बताउछन् ।

यसमा पनि विद्यार्थी र पत्रकारका निवेदन बढी भएको लुइँटेल बताउछनु । व्यवस्थापिक–संसद्ले २०६४ साल साउन २ गते सूचनाको हकसम्बन्धीको विधेयक पारित गरेको थियो ।

विसं २०६४ साउन ५ गते विधेयक प्रमाणीकरण भएको थियो भने भदौ ३ गते आजैका दिनदेखि सूचनाको हकसम्बन्धी ऐन लागू भएको थियो । सोही दिन पारेर राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । आज आठ वर्ष पूरा भएको अवसरमा देशका विभिन्न क्षेत्रमा कार्यक्रम नै गरेर दिवस मनाइँदै छ ।

चितवनको रत्ननगर नगरपालिकाका लेखा प्रमुख सीताराम पोखरेलले हक प्रयोग गर्दा कहिलेकाहीँ भएभरका सूचना मागगर्दा साह्रै समस्या पर्ने गरेको बताउनुहुन्छ । चितवनमा धेरैजसो कार्यालयले सूचना अधिकारी तोकेपनि व्यवस्थित नहुँदा सूचना लिन समस्या पर्ने गरेको पत्रकारले बताएका छन् ।

उहाँले कुनै पनि सूचना विशेष तोकेर माग गर्नुपर्नेमा सबै एकैचोटी सूचना देउ भनेर माग गर्ने केही व्यक्ति भेटेको बताए । सरकारी काम खुला र पारदर्शी बनाउन तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउन सरकारले सूचनाको हकसम्बन्धी ऐन ल्याएको हो ।

तोकिएका सूचना सार्वजनिक निकायले समयसमयमा आफैँ सार्वजनिक गर्नुपर्ने हुन्छ भने राष्ट्रिय अखण्डतामा खलल पुग्ने, सार्वभौमसत्ता, सुरक्षा, शान्ति, अन्तर्राष्ट्रिय सम्बन्धमा असर पुग्ने खालका, निजी, व्यक्तिगत सूचना भने दिन नमिल्ने ऐनमा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: