Tue. Nov 26th, 2024

सरकारले नै वैदेशिक रोजगारमा जाने युवालाई सस्तो व्याजमा ऋण दिने व्यवस्था मिलाउनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उनले वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिए। उनले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउँदै श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । ‘अहिले वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, उनले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक बोझ पर्ने कुनै प्रकारको काम नगर्ने व्यवस्था गर्नुहोला ।’

About The Author

अन्य समाचारहरु: