काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बिजुली खरिद बिक्री सम्झौता गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ ।
तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।
आवश्यक कागजात नबुझाएका ती आयोजना धेरैजसो नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कुल क्षमता दुई सय १५ मेगावाट छ । रोलक्रमबाट हटाइएकामा माथिल्लो त्रिशूली दोस्रो एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छ वटा आयोजनाका प्रवर्द्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ । प्राधिकरणले अबको १५ दिनभित्र प्राधिकरणमा सम्पर्क राख्न सूचित गरेको छ ।