काठमाडौं – घरेलु फिल्ममा ‘दृश्य साहित्य’को खडेरी परेको बेला पछिल्लो साता राहत मिल्ने खबर आए । राहतपूर्ण यस अर्थमा कि ५८ वर्ष लागेको नेपाली फिल्मको ठूलो ‘सेटब्याक’ भनेकै पटकथामा दृश्य साहित्य नहुनु हो । ‘औपन्यासिकता’को यो रिक्तताबीच समकालीन नेपाली साहित्यका ठूला नाम फिल्मसँग एकपछि अर्को गरी जोडिएका छन् ।
कुमार नगरकोटीले लेखेको कथामा पाका निर्माता नीर शाह फिल्म बनाउँदैछन् । चैत वा वैशाखदेखि छायांकन सुरु हुने भनिएको यो बेनामे फिल्मलाई फेन्टासी र स्वैरकाल्पनिक जनरामा राखिएको छ । केहीअघि आयोजित एक कार्यक्रममा शाहले नगरकोटीको कथामा फिल्म बनाउने जीवनको धोको रहेको बताएका थिए ।