काठमाडौं – नेपालमा क्यान्सर रोगका बिरामी पुरुषभन्दा महिला धेरै भेटिएका छन् । हाल ५६ हजार १३ जना क्यान्सरका बिरामी उपचाररत छन् ।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलले विश्व स्वास्थ्य संगठनको सहयोगमा नौ वर्ष लगाएर गरेको अध्ययनमा क्यान्सरका बिरामी पुरुषभन्दा महिला बढी भेटिएका हुन् । अध्ययनअनुसार उपचाररतमध्ये पुरुष २६ हजार एक सय आठ ९४६।६ प्रतिशत० र महिला २९ हजार नौ सय पाँचजना ९५३।४ प्रतिशत० छन् । भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगले विकसित देशमा पुरुषमा बढी देखिए पनि नेपालमा महिला नै बढी भेटिएको बताए । महिलामा कम उमेरमै बिहे गर्ने तथा धेरै बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनको भनाइ रहेको छ ।
जंकफुड, चिल्लो पदार्थको बढी सेवनले स्तन क्यान्सर देखिने गरेको पाइएको पनि प्रधानांगले बताए । पुरुषमा सबैभन्दा बढी देखिने फोक्सोको क्यान्सरमा धूम्रपान नै प्रमुख कारण भएको उनको भनाइ छ । यसबाहेक मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गौलाको क्यान्सर, पिसाबथैलीको क्यान्सर बढी देखिनुमा सुर्तीजन्य पदार्थ सेवन प्रमुख कारक रहेको पाइएको छ । अध्ययनबाट मुख्य रूपमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर र पिसाब थैलीको क्यान्सर देखिएको छ । ‘विकसित देशका पुरुषमा फोक्सो, आमाशय, प्रोस्टेट क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख, कोलोनररेक्टम क्यान्सर बढी देखिन्छ,’ प्रधानांगले भने, ‘हाम्रो अध्ययनले पनि पुरुषमा फोक्सो र आमाशयको र महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएको देखाएको छ ।’
नयाँ पत्रिकाबाट