लक्की चौधरी-
सुनो–सुनो गाउँके भल्मन्सा रे, सुनो रे हमार बिनती ।
बुँदा एक पानीया पियाइदेऊ, हृदा हमार जुराई ।।
टप–टप निधारबाट पसिना झार्दै एक हुल थारु महिलाहरु पुरुषको पोशाकमा छाता तन्काउँदै भलमन्साको घरमा गुगुर्ती आइपुग्छन् । माथिकै हरफको गीत गाउँदै घामले असिन–पसिन महिलाहरु गीतकै भाकामा पिउनका लागि पानी माग्छन् । भल्मन्साको घरबेटीले लोटामा पानी ल्याएर दिन्छिन् । ती महिलाको हुल आफ्नो गाउँको हुँदैन । पराई गाउँबाट ‘थारु सजना गीत’ गाउँदै भल्मन्सको घरमा पुग्छन् । उनीहरु न त आफू पाहुना बस्न आएका हुन्छन् न त पाहुना बस्नकालागि अरुलाई बोलाउन । आफ्नो गाउँबाट चेलीबेटी लाई पक्रेर (अपहरण गरेर) कसैले लगेको छ भने त्यसलाई स–सम्मान छुटाउन आउँछन् । गीतमै जितेर आफ्नो चेलीबेटीलाई छुटाएर लग्छन् । घम्साघम्सी दिनभरी चल्छ । न लडाई न झगडा मात्र गीतको भाकामा दोहोरी खेल्दै जित्नुपर्ने । जितेर लग्न सके ‘बोका’, हार्नुपरे उल्टै ‘‘बाख्रा’ भएर गाउँबाट लखेटिनु पर्छ । थारु गाउँमा खेलिने यस्तो संस्कृतिलाई ‘गैया बेह्राई’ भनिन्छ । महिलाहरु पुरुषको भेषमा खेलिने एक किसिमको प्राचीन खेल हो यो ।
‘गाई’ समात्ने काइदा
थारु गाउँमा एक गाउँका महिलाहरु अर्को गाउँमा गएर एउटी महिलालाई पक्डेर ल्याउँछन् । न कुनै सूचना न जानकारी । एकहुल महिलाहरु अर्को गाउँमा गएर बिना पूर्वजानकारी जवर्जस्ती एउटी महिलालाई समातेर गाउँ ल्याउँछन् । दिउँसोको समय हुन्छ । चार पाँचजना महिलाको एक समूह अर्को गाउँमा प्रवेश गर्छ । टाढाबाट हिडेर पैडल जानुपर्ने हुनाले पसिनाले निथ्रुकै भिजेका हुन्छन् । गाउँको कुनै घरमा गएर पिउनलाई पानी माग्छन् । पानी लिएर महिला आएपछि उसलाई समात्छन् । पानी पनि खान्छन् र महिलालाई लिएर आफूसँगै लान्छन् । महिलाले जति जिद्दी गरेपनि छाड्दैनन् । यसो गरेको देखेपछि त्यो गाउँका भद्र भलाद्मीले बुझिहाल्छन् कि यी महिलाहरु हाम्रा चेलीबेटी किन समातेर लगे भनेर । यसरी समातेको महिलालाई ‘गाई’ अर्थात् ‘गैया’ भनिन्छ ।
किन समातिन्छ गाई ?
थारु गाउँमा पानी माग्ने अचम्मको प्रचलन छ । खेतमा रोपाई गर्नेताका जेठ, असारमा पानी परेन । सुख्खा लाग्यो भने थारु महिलाहरु अचम्मको कला प्रदर्शन गर्छन् । पूर्खादेखि खेलिने एक किसिमको परम्परागत महिलाको खेल भन्दा पनि हुन्छ यस प्रचलनलाई । आफ्नै गाउँकाबीच यो खेल खेलिदैन । छिमेकी अर्को गाउँमा गएर एउटा महिलालाई समातेर ल्याउने र अर्कोदिन गाउँ–गाउँबीचका महिलाहरुले सजना गीतको दोहोरी खेल्ने प्रचलन हो यो । यसो गर्दा भगवान इन्द्र खुशी हुन्छन् र पानी पार्छन् भन्ने जनविश्वास थारु समुदायमा छ । गीतहरुमा प्रतिस्पर्धा गरेर आफ्नो गाउँको चेली (गाई) लाई छुटाएर लग्नुपर्ने हुन्छ ।
गाउँमा गाई बनाएर ल्याएको महिलालाई उच्च सम्मानका साथ राख्ने प्रचलन छ । साँझ विहान छाकैपिच्छे मासु, माछा, अण्डा खुवाएर राखिन्छ । कुनै किसिमको अप्ठेरो र असजिलो महुशस नहुनेगरी राख्छन् । समातेर ल्याएको गाई (महिला) भाग्ने डरले महिलाकैबीच पहरा लगाएर राख्ने गरिन्छ । प्रायः आज समातेर ल्याएको गाई (महिला) लाई भोलिपल्ट नै उनको गाउँकाहरु आएर छुटाएर लग्ने गर्छन् ।
गाउँको चेलीलाई अर्को गाउँका महिलाहरुले गाई बनाएर लगेपछि गीतको तयारी शुरु हुन्छ । जसरी पनि गीतमा उछिनेर (जितेर) आफ्नो चेली फर्काउनु पर्ने हुन्छ । यो तयारी दुवै पक्षकाले उत्तिकै गर्छन् । आफू जितेर देखाउने इज्जतको सवाल पनि । यसमा पुरुषहरुको सहभागिता हुँदैन । मात्र महिलाहरु पुरुषकै पोशाकमा हुन्छन् । गाउँको जितको सवाल हुन्छ । आफ्नो गाउँका महिलाहरु जितेर आए अर्कै किसिमको मान, मर्यादा र सान हुन्छ । यो खबर गाउँ–गाउँमा फैलिन्छ । चर्चाको विषय बन्नेगर्छ । हेरौं गीतको भाखा
ना हम्रे नघली एक बन रे, ना नघली दुई वन ।
छोडी देऊ गैया हमार, हम्रे चली जैबी ।।
हलोमा हग्ने प्रचलन :
अर्को गाउँमा गाई समात्न जानुभन्दा अगाडिको राती महिलाहरु खेतमा गएर हलोमा दिशा (हग्ने) गर्छन् । थारुहरु साँझ–विहान हलो जोतेर खेतमै हलो छाड्ने गर्छन् । खेतमा छाडेको हलो, जुवामा गएर पालैपालो दिशा गर्छन् । त्यतिले पनि पुग्दैन । गाउँमा जो सबैभन्दा खराव हुन्छ । गाउँमा कचकच गर्ने, गाली गरिराख्ने पात्र छ भने उसकै घरको द्वारमा लगेर दिशा फाल्छन् (छ्याप्छन्) । यसोगर्दा सो घरको मुलीले दिशा फाल्ने महिलालाई बेस्सरी गाली गर्छन् । अनाम सनाम बकेर गाली गर्छन् ।
हलोमा दिशा गर्नु र घरको द्वारमा दिशा फ्याल्नुको कारण– हलोमा दिशा गरे हलो धुनका लागि भगवान इन्द्रले राती नै पानी पार्नुपर्छ । घरमुलीले जति कराएर गाली गर्छिन् त्यति नै पानी पनि मसुलधारे पर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले गाउँमा जो सबैभन्दा खराब मान्छे हुन्छ, उसकै घर अगाडि दिशा फ्यालिन्छ । यो काम महिलाहरुले सामुहिकरुपमा छलफल गरेरै गर्छन् । कसैले कसैमाथि दोस र आरोप प्रत्यारोप गर्न पाउँदैन । पुरुषहरुले पनि प्रचलन भन्दै आँखा चिम्लिदिन्छन् ।
खेतको हलोमा दिशा गरेर घर आएपछि सोही राती महिलाहरु नाङ्गै भएर हलो जोत्छन् । घरको बारीमा गएर दुईजना जवान केटीलाई गोरु बनाएर जुवामा भिराइन्छ । दुईजनाले गोरु बनेर जुवा र हलो तान्ने अर्कोले ‘तकतक तकतक, आँ आँ आँ’ गर्दै हलो जोतेझै गर्छ । नाङ्गै गर्नुपर्ने भएकाले यो काम राती नै गरिन्छ । चकमन्न अँध्यारोमा यसरी महिलाले श्रम गरेको अरुले त देख्दैन तर भगवानले देख्छन् भन्ने विश्वास छ । महिलाहरुको यस्तो परिश्रमले पानी मागेको हो भन्ने संकेत बुझेर इन्द्रले पानी पार्छन् । यसो गर्दा कैयौं पटक राती नै पानी पर्ने गरेको उदाहरण थारु गाउँमा छ ।
महिलाहरु पुरुष बन्दा :
गैया बेह्राई थारुको यस्तो प्रचलन हो जहाँ सबै महिलाहरु एक दिनको लागि पुरुष बन्नु पर्ने हुन्छ । शर्त, पैन्ट, धोती, टोपी लगाएर पुरुषको भेषमा महिलाहरु सजिन्छन् । यो प्रचलन निकै पुरानो हो । उहिले नै थारु महिलाहरु पुरुषको भेषमा सजिन्थे । जतिबेला फेसनको कुनै गुन्जाइस थिएन । आजभोलि त्यही देखासेखीले होला आधुनिक शहरका पढालिखा महिलाहरु पुरुषको जस्तो पेन्ट, शर्त लगाएर सज्जिने गर्छन् । पुरुषको कपडामा सजिएर हरेकले हातमा छाता तानेर बस्छन् । गैया छुटाउन आउने अर्को गाउँका महिलाहरुले गाउँको सिमाना छुने वित्तिकै सामुहिक गीत गाउँदै भलमन्साको घरमा आउँछन् । दुवै गाउँको भिडन्त आम्नेसाम्नेमा हुन्छ । भलमन्सा (बरघर) कै घरमुलीले त्यसको व्यवस्थापन गर्छिन् । बाटोघाटोमा फेला पर्ने बटुवा महिलालाई जिस्क्याउँदै साली, बन्दिदी भनेर पुरुषको जस्तो नाता लगाउने गर्छन् ।
भ्यागुताको पूजा :
यो थारु समुदायको प्राचीन चलन हो । यसले एकातिर थारुको गीतबाँसको जगेर्ना र संस्कृतिको संरक्षण हुन्छ, अर्कोतिर महिलाको सशख्तीकरण । महिला–महिलाबीच हुने यस्तो प्रचलनले गाउँ–गाउँबीच सम्बन्ध पनि सुधार हुन्छ ।
गाई छुटाएर लगेपछि अर्कोदिन सो गाउँका महिलाहरु अर्को छिमेकी गाउँमा गएर फूला लोहर्ने (अरुको बारीमा गएर तरकारी माग्ने) काम गर्छन् । गीतकै भाकामा तरकारी माग्ने गर्छन् । गीतको भाखाबाट प्रसन्न भई तरकारी स्याहार्नेले इच्छाएको तरकारी टिपेर दिन्छन् ।
हेरौ गीतको भाखा –
सुनो सुनो बारीके अखोरिया रे, सुनो रे हमार बिनती ।
हम्रे हुइती कारीरी र भँवरवा छत्तिस फूला लाहर्बी ।।
यसरी तरकारी संकलन गरेर सामुहिकरुपमा भोज खाने र रमाइलो गर्ने प्रचलन छ । भोजगर्दा गाउँदेखि टाढा गएर गरिन्छ । खानुभन्दा पहिले भ्यागुताको हिस्सा राखिन्छ । यसरी छुट्याएर राखेको हिस्सालाई भ्यागुता भएको खोला किनारमा राख्छन् । भ्यागुता पनि खान पाएर खुशी हुन्छन् र पानी पार्नमा मद्दत गर्छन् भन्ने महिलाहरु विश्वास गर्छन् ।