Tue. Nov 26th, 2024

धादिङबेसीका अधिकांश मिठाई पसलहरुमा अखाद्य रङ्गको प्रयोग

शंकर श्रेष्ठ
धादिङ–
धादिङबेसीका मिठाइ पसलहरूले मिठाइ बनाउँदा अखाद्य रङ्गको प्रयोग गरिरहेको पाइएको छ । धादिङबेसीको पुछारबजारदेखि सिरानबजारसम्मका प्राय सबै मिठाइ पसलको भान्छामा पकाएर खानै नमिल्ने ‘हाइड्रो’का बट्टा नै फेला परेको हो ।

मिठाइ पसलको भान्छाबाटै त्यस्ता विभिन्न रङ्गको अखाद्य वस्तुहरु जफत भएको बजार अनुगमन समितिका संयोजक एवं् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । तिहार, छठ लगायत पर्वहरुमा मिठाईको अत्याधिक प्रयोग हुने र हेर्दा राम्रो देखाउन मिठाईमा प्रयोग गरिने रङ्ग स्वास्थ्यका लागि हानिकारक भएकोले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर अखाद्य रङ्गको प्रयोग गर्नेहरुमाथी विशेष निगरानी राखिएको पराजुलीको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृत भएको रङ्ग मापदण्ड अनुसार मात्रा मिलाएर प्रयोग गर्न पाइने भएपनि बजारका मिठाई पसलहरुले प्रयोग गरिरहेका रङ्गहरु कुनै पनि स्वीकृत रङ्ग नभएको र रङ्गको मात्रामा सरकारले तोकेको मापदण्ड लागु नभएको पाइएको छ । अनुगमन समितिलेत्यस्ता वस्तुहरु अब प्रयोग नगर्न सचेत गराउँदै जरिवाना समेत तिराएको छ ।पसलका सञ्चालकहरु स्वयंले मिठाइ बनाउँदा हाइड्रोको उपयोग गर्ने गरिएको स्वीकार गरेका छन् । उनीहरुले लागत मूल्य घटाउनका लागि हाइड्रोको उपयोग गर्ने गरिएको स्वीकार गरेका हुन् ।

‘उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउँछन् । उनीहरुको रुची अनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ । त्यति महँगो कसले खाने ? त्यसैले यो मिसाएर बनाउनुपर्ने हुन्छ,’ पसलेहरुले अनुगमन समितिसँग भनेका थिए’, अनुगमन समितिका सदस्य नारायणलाल श्रेष्ठले भने ।

केही मिठाइ पसलले म्याद गुज्रेको मसला र अखाद्य तेलको प्रयोग गरेको पाइएको छ । मापदण्ड विपरित मिठाई पसल संचालन र उपभोक्तालाई मिठाई विक्रि गरिरहेका पसलहरुलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । मिठाइ बनाउँदा प्रयोग हुने सामाग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना र सरसफाइमा सुधार गर्नु पर्नेलाई समय दिएको अनुगमन समितिका सदस्य एवं् घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए ।

तिहारमा धेरै प्रयोग हुने मिठाई र मिठाईजन्य परिकारहरूमा तोकिएभन्दा बढी मात्रामा रङ्गहरू प्रयोग भएको पाइएकाले सचेत हुन सरकारी अधिकारीहरूले आग्रह गरेका छन् । उपभोक्ता अधिकारकर्मीहरू चाहिँ चाडपर्वका बेलामात्रै सरकारले अनुगमन बढाउने गरेको भन्दै खाद्य पदार्थमा गुणस्तर सुनिश्चित गर्न सरकारी निकाय असफल भएको आरोप लगाउदै आएका छन् ।
तिहार, आमा र बाबुको मुख हेर्नेलगायतका चाडपर्वका बेला नेपालमा मिठाईको व्यापार ह्वात्तै बढ्ने गरेको छ। सरकारले सूचनामार्फत चाडपर्वमा धेरै बिक्री हुने मिठाईलगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्ने र रङको मात्रा सरकारले तोकेको मापदण्ड अनुसार मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।

About The Author

अन्य समाचारहरु: