Mon. Nov 25th, 2024

तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको सामाजिक लेखा परिक्षण

धादिङ– तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङबाट प्रवाह हुँदै आएको सेवा तथा सुविधाको विषयमा सरोकारवाला निकाय र सेवाग्राहीबीच छलफल गरिएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङले सामाजिक लेखा परिक्षण कार्यक्रम गरी बुधबार विगतमा आँखा केन्द्रले प्रवाह गरेको सेवा तथा भावी योजनाका विषयमा छलफल गरेको हो ।

सामुदायिक आँखा केन्द्रको नामले चिनिने तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङले प्रवाह गर्दै आएको सेवाको विषयमा सेवाग्राहीहरुले खुलेरै प्रशंसा गरेका छन । ‘लाइन बस्नु नपर्ने र अस्पताल पुग्ने वित्तिकै उपचार हुने अस्पताल भनेकै यहि आँखा केन्द्र हो । घण्टौ लाइन बस्नु पर्ने झण्झट छैन । डाक्टर तथा कर्मचारीले गर्ने व्यवहार पनि राम्रो छ’, नीलकण्ठ नगरपालिका–८ की सावित्रा कोइरालाले भनिन् – ‘आँखामा झुसिल किराको झुस बिझेर आएको थिए । उपचारका क्रममा हप्ता दिनसम्म आउदा पनि मैले सहज उपचार र राम्रो व्यवहार पाएँ । आँखा अस्पतालले दिने सेवाप्रति म सन्तुष्ट छु ।’
आँखा केन्द्रले प्रवाह गरेको सेवा प्रभावकारी बनाउन सेवाग्राहीहरुले सुझाव पनि दिएका छन् । विमा लागु गर्नुपर्ने, अपाङ्गता भएका नागरिक तथा जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिनुपर्ने, निजि स्तरमा सञ्चालित पसलहरुमा भन्दा चस्मा, ग्लास लगायतको मूल्य सुलभ हुनुपर्ने लगायतका सुझाव दिएका छन् । आँखा केन्द्रमा उपचार गर्न महंगो त छैन । तर छुट र निशुल्क भए हामी जस्ता वृद्धवृद्धा र आर्थिक कमजोर भएकालाई सहज हुने कृष्णबहादुर श्रेष्ठले सुझाव दिए ।

कार्यक्रममा उठेका सवालहरुप्रति आँखा केन्द्र धादिङले गम्भिर भएर समाधानतर्फ लाग्ने जिल्ला समन्वय समितिका प्रमुख एवम् तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीले बताए । ‘२२ वर्षदेखि प्रवाह गर्दै आएको सेवाप्रति तपाईहरु सन्तुष्ट हुनु हाम्रो लागि हौसला हो । तपाईहरुको सुझावले सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सहयोग मिल्नेछ । तपाईहरुले दिनुभएको सुझावप्रति सकरात्मक छौं । चाँडै नै हामी समाधान खोज्छौं’, उनले भने ।

कुल जनसंख्यामध्ये १० प्रतिशत नागरिकले चस्मा लाउनु पर्ने समस्या ३५ वर्ष भन्दा माथिका ६० प्रतिशत मानिसलाई आँखाको समस्या देखिएको छ । तर ठूलो समस्या भएपछि मात्रै विरामी आइपुग्छन् । आँखा केन्द्रले धादिङमा सेवा विस्तार गरेको २२ वर्षमा करिव दुइ लाख सेवाग्राहीलार्ई सेवा दिएको वरिष्ठ अधिकृत क्लष्टर लिड रामसिंह तामाङले जानकारी दिए । अहिले जिल्लाको ६ ठाउँ गजुरी, दार्खा, साँझभञ्याङ, सल्यानटार, बेनीघाट र धादिङबेशीमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रबाट सेवा प्रवाह भैरहेको छ । चेकजाँच, औषधि विक्रि वितरण, शल्यक्रिया लगायतका सेवा दिदै आएका छौं । कोही पनि आँखाको ठूलो समस्यामा नपरुन्, समयमै उपचार पाउन् र अन्य स्वास्थ्य परिक्षण जस्तै आँखा पनि नियमित परिक्षण गर्नुपर्छ भन्ने सन्देश दिन समय समयमा आँखा शिविर गर्ने र जटिल समस्या देखिएमा अपरेशन गर्दै आएका छौं । आर्थिक अवस्था कमजोर भएका कतिपय विरामीलाई निशुल्क उपचार सेवा पनि प्रदान गरिदै आएको उनले बताए ।

About The Author

अन्य समाचारहरु: