धादिङ- बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको मागप्रति सरकारले चासो नदिएको बहिरा शिक्षकहरुले गुनासो गरेका छन् । बहिरा शिक्षक संघ, नेपालको राष्ट्रिय भेलाका लागि देशभरबाट धादिङ आइपुगेका बहिरा शिक्षकहरुले आफुहरुको समस्या सुनिदिने कोहि नभएको दुख व्यक्त गरेका हुन् ।
राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बहिरा शिक्षक संघ, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र शर्माले ५५ वर्षदेखि बहिरा शिक्षकहरुको समस्या समाधान गर्न सरकारले वेवास्था गरेको बताए । उनले भने– ‘हामी त शारिरीक रुपले बहिरा हौ । सरकार त दृष्टिविहिन पनि रहेछ, न हाम्रो कुरा सुन्यो न देख्यो । तर हामी बोल्न र सुन्न नसक्नेको कुरा बुझिदिने कोहि भएन ।’
सरकारले ५५ वर्षअघिदेखि बहिरा बालबालिका पढाउन बहिरा विशेष विद्यालय स्थापना गरेर सञ्चालनमा ल्याएको विद्यालयमा अध्यापन गराउने शिक्षक र कर्मचारीलाई दरवन्दीको व्यवस्थापन गरेन । अन्य शिक्षक सरह दरवन्दीको व्यवस्था गरेर शिक्षकहरुलाई स्थायी गराउनुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।
संविधानको धारा ३७ मा बहिरा बालबालिकाले पढ्न पाउने हक उल्लेख छ तर एक जना पनि स्थायी शिक्षक छैन । कक्षा कोठामा अध्यापन गरेको हेरेर शिक्षकहरुलाई स्थायी लाइसेन्सको व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् । समान क्षमता समान शैक्षिक योग्यता र काम गर्ने बहिरा शिक्षकलाई सरकारले पक्षपात नगरी सेवा सुविधा दिनु पर्ने बहिरा शिक्षक संघ, नेपालका महासचिव रामप्रसाद अधिकारीले बताउनुभयो । उनले भने – ‘हामीले पनि अन्य शिक्षक सरह सुविधा खोजेको हो । १० प्रकारको अपाङ्गमध्ये बहिरा एउटा हो । सरकारले बहिरा बालबाललिका र शिक्षकको लागि दिर्घ योजना बनाएर अघि बढ्न नसक्दा नेपालमा रहेको करिव १२ हजार बहिरा बालबालिका र करिव एक सय पचास भन्दा बढी शिक्षकको भविष्य अन्यौल छ ।’
सरकारले वेवास्था गर्दा वर्षौदेखि बहिरा शिक्षक समस्याको भूमरीमा रुमल्लिन बाध्य भएको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए । ‘सरकारको कुनै निकायमा बहिरा आरक्षण छैन । अरु सरह बोल्न र सुन्न नसक्ने बहिराले प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । सेवा गरिरहेपनि पेशाको कुनै ग्यारेन्टी छैन । सेवा अवधि सकिएपछि पेन्सनको व्यवस्था पनि छैन । बहिरा विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई राज्यको कुनै निकायले पनि अनुमति दिने व्यवस्था छैन । सरकारले अन्य शिक्षक र बहिरा शिक्षकबीच गरेको भेदभाव अन्त्य गर्नुपर्छ’, उनले भने ।
राष्ट्रिय भेलाकै अवसरमा सांकेतिक भाषाका जन्मदाता गोकुल प्रसाद रिजाल र निर्मल कुमार देवकोटालाई सम्मान गरेको छ । संस्थागत रुपमा काठमाडौ बहिरा संघलाई पनि सम्मान गरेको छ । धादिङबेसीमा जारी दुई दिने राष्ट्रिय भेलाले विशेष धादिङ घोषणापत्र जारी गर्नेछ ।
बहिरा अपांगता भएका शिक्षकहरुले बहिरा तथा अपाङ्गता शिक्षक कर्मचारीहरु विस्थापित नहुने गरी विशेष व्यवस्थाद्धारा सबै बहिरा अपाङ्गता भएका शिक्षक कर्मचारीहरुलाई शिक्षा ऐन २०८० मार्फत स्वतःस्थायी गर्न पहल गरिदिन माग गर्दै आएका छन् ।
विशेष बहिरा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, आन्तरिक कक्षाकोठामा मुल्यांकन गरी शिक्षण अनुमतिपत्र दिनुपर्ने, सेवामा योग्य अनुभवी सांकेतिक भाषा विज्ञ बहिरालाई पहिलो प्राथमिकता दिनुपर्ने लगायतका माग राख्दै आएका छन् । सांकेतिक भाषा शिक्षकको छुट्टै दरबन्दीको व्यवस्था मिलाउनुपर्ने र लामो समयदेखि अध्यापनरत बहिरा अपांगता भएका शिक्षक, कर्मचारीहरुलाई मुल्यांकन गरी तत्काल तहगत रुपमा बढुवा गर्न पनि उनीहरुले माग गर्दै आएका छन् ।