धादिङ- अघिल्लो वर्षसम्म वनमारा र कुरोले छोपिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फुलैफुलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फुलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक विद्यार्थीहरु भन्छन्–‘फुल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैदान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।’
धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको वालादेवी माध्यामिक विद्यालयका शिक्षक विद्यार्थीलेपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत फुल खेती गरीरहेका छन् ।विद्यालय परिसरमा रहेको खाली जग्गामा उनीहरुले फुल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फुलखेतीमा रमाइरहनुभएकी विद्यार्थी अस्मिता कुमाल भन्छन्–‘फुल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौं ।
गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु भएको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयमा यो वर्ष तिहार लक्षित फुल खेति गरिएको हो ।दशैं तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनियो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फुलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा संचालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठले बताए ।
१५ हजार सयपत्री र पाँच हजार भन्दा धेरै मखमली फुल रोपेका छन् । यसले विद्यालयलाई आम्दानी त बढाएको छ नै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि प्रदान गरेको छ ।‘विद्यालय सुधार योजना बनाउँदा नै फुल खेती र तरकारी खेती गर्ने कुरा समावेस गरेका थियौं । त्यसै अनुसार वडा कार्यालयले दुई लाख रुपैंया बजेट पनि छुट्याइदिएको छ’, प्रधानाध्यापक श्रेष्ठले भने –‘त्यसले अझ हौसला बढायो । फुल खेतीले यो वर्ष तीन लाख भन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौं ।’
फुल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पु¥याएको छ ।विद्यालय परिसरमा ढकमक्क फुलेको फुलले आकर्षण त थपेको छनै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।
कक्षा आठदेखि दश कक्षासम्म अध्यन गर्ने विद्यार्र्थीहरुलाई दैनिक केहि समय उपार्जनको काममा सहभागी गराउदै आएको छ । यसले विद्यार्थीको सैदान्तिकसँगै व्यवहारिक शिक्षा लिएर आफ्नो घर गाउँमा पनि सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फुल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाई छ ।
पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाझिदै गएको जमिनलाई अम्दानीसँग जोड्न र यूवालाई स्वदेशमा नै आयआर्जनमा लाग्न प्रेरीत समेत गरेको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको वालादेवी माध्यामिक विद्यालयका शिक्षक विद्यार्थीलेलगाएको फुल खेती र फुलबारीमा रमाउँदै गरेका विद्यार्थी । विद्यालयको पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तिहार लक्षित फुल खेतीबाट यो वर्ष तीन लाख आम्दानी लिने उनीहरुको लक्ष्य छ ।