
पोखरा – गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।
सिंहका अनुसार मन्त्रालयले मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो । कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।