Tue. Nov 26th, 2024

सेयर बजारमा सुधार आउन सकेन


काठमाडौं -लामो समयदेखि सेयर बजारमा सुधार आउन सकेको छैन । लगानीकर्ताको आत्मबल कमजोर देखिएको छ । ठूला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् । साना लगानीकर्ताले मात्र यति ठूलो बजार तान्न सक्ने देखिंदैन ।

ब्याजदर महँगो छ । सेयर बजारसँग सम्बन्धित नीतिगत अवरोधहरु कायमै छन् । यिनै कारणले बजारले गति लिन नसकेको अनुमान गरिएको छ । यस्तै, आन्तरिक अर्थतन्त्रमा सुधार हुन सकेको छैन । तर बाह्य अर्थतत्त्रका सूचकमा भने सुधार भइरहेको छ ।

अब बजारमा अपेक्षा अनुसारको सुधार हुनका लागि बजारसँग सम्बन्धित नीतिगत अवरोध हटाउनुपर्छ । बैंक ब्याजदर सस्तो हुनुपर्छ भने गिरेको लगानीकर्ताको मनोबल उकास्ने कार्यक्रम आवश्यक देखिन्छ । यस्तै, संस्थागत र ठूला लगानीकर्ताको प्रवेश अत्यावश्यक हुन्छ ।
पछिल्ला दिनहरुमा दैनिक कारोबार प्रवृत्ति हेर्दा पनि नेप्सेसहित कारोबार रकम निकै थप सुस्त रहेको देखिन्छ । किन्ने बित्तिकै भाउ घट्ने प्रवृत्ति देखिएको भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा गुनासो पोखिरहेको देखिन्छ ।

यता, कतिपय ठूला र पुराना लगानीकर्ता यसअघि नै कर्जाको भारमा परेका छन् । लामो समयदेखि बजार नबढ्दा उनीहरुले थप कर्जा लिन वा सेयर किन्न सक्ने अवस्था देखिंदैन ।

पुरानै कर्जाको साँवा र ब्याज जोहो गर्न नै धेरैलाई धौ धौ परेको अवस्था छ । किन भने करिब २७ महिनादेखि बजार घट्दोक्रममा छ । यसबीचमा ब्याजदर भने ह्वात्तै बढिसकेको छ । एकातिर सेयर मूल्य घट्ने अनि अर्को तिर बैंक ब्याजदर लगभग दोब्बर भएपछि पुराना पनि मारमा पर्दै आएका छन् ।
धितोपत्र बोर्ड नयाँ ब्रोकरलाई लाइसेन्स खुला गरे पनि उनीहरु अहिलेसम्म सहर कन्द्रित छन् । सहरमा पनि एकाधले बाहेक नयाँ ग्राहक खासै ठूलो मात्रामा बनाइसकेको अवस्था छैन । अब नयाँले ग्राहकहरु थपेपछि यसको सकारात्मक प्रभाव विस्तारै बजारमा देखिने अनुमान गर्न भने सकिन्छ ।

पछिल्ला दिनहरुमा बैंकमा निक्षेप थपिएको छ तर ब्याजदर अझै महँगो रहेकाले कर्जा विस्तार हुन सकेको छैन । कर्जा प्रवाह नभए पनि बैंकहरुले खासै ब्याजदर घटाएका छैनन् । तर विस्तारै ब्याज घटाउनेक्रम भने सुरु भएको छ । सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिन केही समय लाग्ने जानकारहरुको भनाई छ । किनभने बेस्सरी थलिएको बजार उठ्नलाई लामै समय लाग्न सक्छ ।

बजार घट्न थालेपछि मास साइकोलजी पनि नेगेटिभ बन्दै जान्छ । धेरै नयाँ र साना लगानीकर्ताहरुमा हल्लाकै पछि लाग्ने प्रवृत्ति हावी हुन्छ । अहिले सेयर बजारप्रति मास साइकोलजी नकारात्मक भएकाले नेप्से दिनहुँजसो नेप्से घटेको जानकारहरु बताउँछन्

About The Author

अन्य समाचारहरु: