Tue. Mar 4th, 2025

धकेलिँदैछ मेलम्चीको सपना

malamchi

काठमाडौं – समयमा काम सकिएको भए अहिले काठमाडौं उपत्यकाबासीका घरघरमा मेलम्चीको खानेपानी झर्थ्यो। चर्चा भएको २६ वर्ष र कामै सुरु भएको १५ वर्ष बित्दा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी कहिले झर्ने हो, यकिन हुन सकेको छैन।

सरकारले एक वर्षअघि नै २०७३ वैशाख १ गते काठमाडौंबासीका घरघरमा पानी खस्ने आश्वासन बाँडेको थियो। मेलम्ची खानेपानी विकास समितिले सम्झौताअनुसार काम नगरेपछि चिनियाँ सिआरसिसी–सिएमआइई चाइना जेभीसँग ठेक्का तोडेर प्रतिस्पर्धाबाट इटलियन ठेकेदार नियुक्त गरेको थियो। इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनासँगको सम्झौताअनुसार २०७३ भदौमा काम सक्नुपर्छ।

उक्त ठेकेदारसँग २०७० असार ३१ मा सम्झौता भएको थियो। उक्त कम्पनीले पनि दुई वर्ष बित्दासमेत २० प्रतिशत पनि काम सकेको छैन। यही अवस्थामा ठेकेदारले तोकिएको समयमा काम नसक्ने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताएको  छ।

‘ठेकेदारले ठेक्का प्रस्ताव गर्दा दिनको करिब ३६ मिटरका दरले सुरुङ खन्ने प्रतिबद्धता गरेको थियो, अहिले दिनको करिब ७ मिटरका दरले मात्र काम गरेको छ,’ उनले नागरिकसँग भने, ‘सोचेभन्दा फरक प्रकृतिको चट्टान भेटिएकाले काम गर्न समस्या भएको बताउँदै आएको छ।’

मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन करिब साढे २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ। करिब ६ किलोमिटर सुरुङ खनेपछि चिनियाँ ठेकेदारसँग ठेक्का तोडेर इटलियन ठेकेदारसँग सम्झौता गरिएको थियो। तर उसले २ वर्षसम्म करिब ७ किलोमिटर मात्र सुरुङ खनेको आयोजनाले जानकारी दिएको छ। नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: