काठमाडौं-अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार कात्तिक १६ गते १ डलरको भाउ बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
जुन अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि असोज ३० गते डलरको भाउ बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा पुगेर रेकर्ड बनाएको थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । बुधबार भारतीय रुपैयाँ भारु पनि इतिहासकै न्यून विन्दुमा बन्द भएको थियो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ८३।३३ मा बन्द भएको थियो ।
पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुनसक्छ ।