काठमाडौं – आईसीसी टी(२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ ।
समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।
ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए ।