
धादिङ– होटल एसोसियन नेपाल (हान) धादिङले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । हानमा आवद्ध होटल व्यवसायीहरुले विभिन्न क्षेत्रका व्यवसायी र सरोकारवालाहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चाडपर्वका बेला सचेत रहेर व्यवसाय संचालन गर्न होटल व्यवसायीहरुलाई सुझाएका छन् । दशै, तिहार, नेपाल संवत, छटलगायत पर्वहरुमा होटलहरुमा पनि पाहुनाको चाप बढ्ने हुँदा त्यस्तो बेला राती अबेरसम्म होहल्ला नहुनेगरी व्यवसाय संचालन गर्न आग्रह पनि गरे ।
पर्वहरुमा रमाइलो गर्ने क्रममा झैझगडा समेत हुनसक्ने भएकोले त्यसका निम्ती होटल व्यवसायी चनाखो रहेर व्यवसाय चलाउनपर्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । सौहार्दपूर्ण वातावरणमा होटल व्यवसाय संचालन गरेर होटलमा आउने पाहुनालाई खुसी पार्न र व्यवसाय संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा शुभकामना आदानप्रदानकै क्रममा होटल एशोसियसन नेपाल हान धादिङका अध्यक्ष राजाराम सिलवालले चाडपर्वको बेला सौहार्दपूर्ण ढंगबाट व्यवसाय संचालन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरे । धादिङबेसी सिरानबजारस्थित क्रिक रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले अहिले बेलका ९ बजेसम्म संचालन भइरहेका होटलहरुलाई कम्तीमा १० बजेसम्म संचालन गर्न पाउने वातावरण बनाइदिन सरक्षा निकायहरुसंग आग्रह गरेका थिए ।
