दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाटबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ । यी नाकाबाट पछिल्लो तीन हप्तामा ८ हजार जना नेपाली स्वदेश फर्किएका स्थानीय प्रशासनहरुले जनाएका छन् ।
चाडपर्वको समयमा स्वदेश फर्किनेहरुले नाकामा अनेक खालका सास्ती व्यर्होनुपर्ने कुरा नौलो होइन । चेकजाँचका नाममा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिदा नाकामा सास्ती खेप्नुपर्ने बाध्यता नेपाली मजदुरहरुको छ । पछिल्लो समय नेपालमा सरकारले पाँच सय र एक हजार दरको भारतीय नोट प्रतिबन्ध गरेपछि यसको फाइदा सीमावर्ती क्षेत्रका विचौलियाहरुले लिइरहेका छन् ।
भारतबाट फर्किने नेपालीले नोट सटहीका नाममा ३ देखि १० प्रतिशतसम्म कमिसन दिनुपरेको छ । दशैँ मनाउन बिहीबार कैलाली फर्किएका लम्कीचुहा नगरपालिका–६ का हरिश खत्रीले पैसा सटहीको नामममा विचौलियाले दुःख दिएको गुनासो गरे । खत्रीले आफूसँग भएको दुई लाख भारतीय रुपैयाँ साट्दा २० हजार रुपैयाँ मागिएको सुनाए ।